समाचार खोज्न गएका पत्रकारले सेवा भेटे अनि बदलियो एउटा जीवन
वृद्धाको आँसुभित्र लुकेको पीडा देखी पत्रकार सुविन शेर्पालीले ४ लाख ४० हजार खर्च गरेर बनाए चिटिक्ककाे घर
दाङ । भित्ताभरि चिरा परेका थिए, छानाबाट थोपा–थोपा पानी चुहिँदै थियो । टालटुल पारेर बाँचेको त्यो घरभन्दा भत्किएको मन थियो विष्णुमाया विकको । उमेरले ६३ कटिसक्यो, जीवनको अन्त्यतिर उभिएर उनी हेर्थिन्–एकान्त, पीडा र निस्सहायता ।

दुई छोरामध्ये जेठोको मृत्यु भयो, कान्छोको मानसिक अवस्था हरायो । रातभर चिसो छानामुनि ओत लाग्दै, अँध्यारो एक्लोपनमा रात बिताउँथिन् उनी । “म त बस्ने मान्छे हैन रहेछु । भगवानले किन बिर्से मजस्तीलाई ? हरेक दिन उनी मनमनै दोहोरिने प्रार्थना थियो मेरो”, विष्णुमायाले आँखाभरि आँशु पार्दै भनिन्, “जसको उत्तर कहिल्यै आएको थिएन । समाचार बनाउन आएका पत्रकारले मेरो पीडा देखेर घर बनाइदिए । म अत्यन्तै खुसी भएकी छु ।”
नयाँ घर पाउँदा हर्षित विष्णुमायाले विगत सम्झिदै भनिन्, “पीडाले कुँदिएको मेरो घरमा एक पत्रकार आइपुगेका थिए । उनैले मलाई घर बनाइदिए ।”
समाचार संकलनका लागि विष्णुमायाको घरमा पुगेका पत्रकार सुविनराज शेर्पाली समाचारसँगै वृद्धा विष्णुमायालाई नयाँ घर उपहार दिने संकल्प बोकेर फर्किए । “समाचारका लागि त्यहाँ पुगेका थिएँ । बुढी आमाको पीडा देख्न सकिनँ । समाचारसँगै घर बनाउने संकल्प बोकेर फर्किएँ”, सुविनले भने ।
वृद्धा विष्णुमायाको दुर्दशा देख्दा मानवीय दायित्व पुरा गर्ने सोच पलाएको भन्दै सुविनले थपे, “बुढी आमाको दुर्दशा चुपचाप हेरिरहेँ । बोल्न सकेन । त्यो क्षणमा कलमभन्दा अग्लो लाग्यो मानवीय धर्म । त्यहीबाट निर्णय गरेँ–म यो वृद्ध आमाका लागि घर बनाउँछु ।”
घर बनाउने संकल्प बोकेर निस्किएका सुविनले सबैसँग सहयोगको हात फैलाए । सुरुमा कसैले कसैले सुनेनन् उनको पीडा । आफूसँग भएको थोरै रहमबाट घर बनाउन सुरु गरेका सुविनका लागि सहयोगी दाताहरु थपिदै गए । घर बनाउँदै गए । अन्तिममा ४ लाख ४० हजार जुटाएर उनले घर बनाइएरै छाडे—दुई कोठे चिटिक्कको घर । झ्याल छ, ढोका छ, तर त्योभन्दा ठूलो छ—विष्णुमायाको आँशु झरेको धन्यवाद ।
“म त मरेकी थिएँ, उहाँले फेरि बाँच्ने आशा दिनुभयो । उहाँ भगवान हुनुहुन्छ”, पत्रकार सुविनलाई देखाउँदै नवनिर्मित घरको ढोकामा उभिँदै भक्कानिँदै विष्णुमायाले भनिन् ।
घर हस्तान्तरण समारोहमा जब उनले पत्रकार सुविनको हात समाएर आँशु पुछिन्, उपस्थित सबैको मन रसाएको थियो । त्यहाँ शब्द बोलिन्थे–तर भावना सुनिन्थ्यो ।
घोराही उपमहानगरपालिका वडा नम्बर १३ का अध्यक्ष डुल्लुराम पोखरेल भन्छन्, “हामीले गर्न नसकेको काम पत्रकारले गर्नु भयो । उहाँबाट सबैले सिक्नुपर्छ ।” पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासन भन्छन्, “यो कलमले बनाएको घर होइन, पत्रकारको मुटुले उठाएको घर हो ।”








