नारायणहिटीको रक्तरञ्जित साँझ : २४ वर्षपछि पनि रहस्यकाे घेराभित्र घटना
काठमाडौँ । नेपाली इतिहासको सबैभन्दा रहस्यमय, दुःखद् साँझ अर्थात् नारायणहिटी दरबार हत्याकाण्डको २४औँ स्मृति दिवस मनाइँदैछ आज मनाइदै छ ।
२०५८ साल जेठ १९ गते शुक्रबारको त्यो बेलुकी, राजदरबारभित्र भएको हत्याकाण्डले न केवल एक राजा र उनको परिवारको जीवन अन्त्य गर्यो, बरु शताब्दीऔँदेखि चलेको नेपाली राजतन्त्रकै जरा हल्लाएकाे थियाे ।
त्यो साँझ नारायणहिटी राजदरबारमा पारिवारिक भोजको कार्यक्रम थियो । भोजमै तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, अधिराजकुमारी श्रुति, राजा वीरेन्द्रका भाइ धीरेन्द्र, राजकुमारीहरू जयन्ती, शान्ति, शारदा र श्रद्धा, र श्रद्धाका पति कुमार खड्गविक्रम शाहको ज्यान लियो एउटा भीषण र रहस्यमय गोलीकाण्डले ।
रक्तरञ्जित भोज : एक रातले बदल्यो राष्ट्रको दिशा
भोज सकिन नपाउँदै दरबारभित्रबाट निरन्तर गोली चलिरहेको आवाज गुञ्जियो । सुरक्षाकर्मी स्तब्ध भए, दरबारभित्रको आपतकालीन संकेतले सबैलाई चकित बनायो ।
अचेत अवस्थामा तत्कालीन युवराज दीपेन्द्रलाई उठाएर अस्पताल पुर्याइयो । उपचारकै क्रममा उनलाई राजा घोषणा गरियो तर जेठ २२ गते उनको पनि निधन भयो । त्यसपछि, राजा वीरेन्द्रको भाइ ज्ञानेन्द्र शाहलाई राजा बनाइयो-एक यस्तो स्थितिमा, जहाँ देश शोक, आक्रोश र अनिश्चितताले छोपिएको थियो ।
छानबिन समिति, विवाद र विश्वासको संकट
हत्याकाण्डको कारण पत्ता लगाउन सर्वोच्च अदालतका तत्कालीन प्रधानन्यायधीश केशवप्रसाद उपाध्याय र सभामुख तारानाथ रानाभाटको संयोजनमा दुई सदस्यीय छानबिन समिति गठन गरियो ।
समितिको निष्कर्ष थियो-युवराज दीपेन्द्रले नशालु अवस्थामा आफ्नै परिवारका सदस्यहरूलाई गोली हानी हत्या गरे र अन्त्यमा आफैँमाथि गोली चलाएर आत्महत्या गरे तर जनताको मनले यो स्वीकार गर्न सकेन ।
घटनामा रहस्य, षड्यन्त्र र निष्कर्षप्रतिको अविश्वास अझै बाक्लिँदै गयो । ”दीपेन्द्र एक्लै कसरी यति धेरै सुरक्षा घेराभित्र सबैलाई मार्न सके ?”, ‘त्यस रात दरबारभित्र अरु को-को थिए ?” जस्ता प्रश्न आज पनि यथावत छन् ।
घटना यति रहस्यमय बन्याे कि जसलाई कसैले विश्वार गरेनन्, आशङ्कै आशङ्काकाे बिचबाट जनतामा सुरु भएकाे आक्राेसले राजतन्त्रलाई पतनकाे दिशामा पुर्याएरै छाड्याे ।
इतिहासको मोड : हत्याकाण्डदेखि गणतन्त्रसम्म
दरबार हत्याकाण्डले राजसंस्थाको नै जग हल्लाइदियो । राजा वीरेन्द्रप्रतिकाे जनविश्वास उनको निधनपछि सिंहासन सम्हालेका ज्ञानेन्द्र शाहले त्यो विश्वास कायम राख्न सकेनन् ।
एकपछि अर्काे गर्दै उनका कदमहरु जनताका लागि विष सावित हुँदै गए । समयक्रमसँगै २०६२/६३ को जनआन्दोलनले ज्ञानेन्द्रको प्रत्यक्ष शासनको अन्त्य गर्यो । संसद् पुनःस्थापना भयो, राजाको अधिकार खोसियो र २०६५ सालमा नेपाल पूर्ण गणतन्त्र घोषणा गरियो । राजतन्त्र, जसको शताब्दीऔँ लामो इतिहास थियो, नारायणहिटी दरबारमै अन्त्य भयो ।
आजको सम्झना : दरबार संग्रहालय र मौन प्रश्नहरू
आजको दिन, नारायणहिटी दरबार संग्रहालयमा राजपरिवारको स्मृतिमा श्रद्धाञ्जलि अर्पण गरिँदैछ। राजा वीरेन्द्रको तस्वीरअगाडि फूल चढाइन्छ, मौन धारण गरिन्छ तर त्यो मौनतामा एक प्रश्न अझै गुञ्जिरहन्छ-“साँचो हत्यारा को हो ?”
यस अवसरमा योगी नरहरिनाथ आध्यात्मिक परिषद्ले आज जावलाखेलस्थित पूर्वराजा वीरेन्द्रको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जलि सभा आयोजना गरेको छ ।
राजनीति, सत्ता र षड्यन्त्रले लपेटिएको त्यो साँझ २४ वर्षपछि पनि रहस्यकै गर्भमा छ । दरबारका पर्खालले त्यो रातको चिच्याहट अझै दबाइरहेको जस्तो लाग्छ।








