७ जेष्ठ २०८३, बिहिबार

इन्स्टाग्राममा बीजेपीलाई पछि पारेको केही घण्टामै ककरोच जनता पार्टीको एक्स अकाउन्टमा रोक

प्रकाशित मिति :  21 May, 2026 3:05 pm


काठमाडौँ । भारतमा तीव्र रूपमा लोकप्रिय हुँदै गएको व्यङ्ग्यात्मक राजनीतिक समूह ‘ककरोच जनता पार्टीको एक्स अकाउन्ट भारतमा ‘विथहेल्ड’ गरिएको छ। यो घटना पार्टीले इन्स्टाग्राममा भारतीय जनता पार्टीको आधिकारिक अकाउन्टलाई पछाडि पार्दै फलोअर्सको संख्या १० मिलियन नाघेको केही घण्टामै भएको हो।

हाल इन्स्टाग्राममा सीजेपीको फलोअर्स संख्या १० मिलियनभन्दा बढी पुगेको बताइएको छ भने बीजेपीको आधिकारिक अकाउन्टमा करिब ८।७ मिलियन फलोअर्स रहेको छ। पार्टीका संस्थापक अभिषेक दीपकेले अकाउन्ट भारतमा ब्लक गरिएको स्क्रिनसट सार्वजनिक गर्दै प्रतिक्रिया दिएका छन्। उनले लेखेका छन्, “अपेक्षा गरेअनुसार नै ककरोच जनता पार्टीको अकाउन्ट भारतमा विथहेल्ड गरिएको छ” ।

यस घटनाले सामाजिक सञ्जालमा ‘जेन–जी’ लक्षित मीम आधारित राजनीतिक अभियानप्रति बढ्दो ध्यान र बहसलाई थप तिव्र बनाएको छ।
ककरोच जनता पार्टी सामाजिक सञ्जालभर तीव्र रूपमा फैलिँदै गएको बीचमा उक्त अकाउन्टमाथि प्रतिबन्ध लगाइएको हो। केही दिनअघि मात्र व्यङ्ग्यात्मक अनलाइन अभियानका रूपमा सुरु भएको यो समूह अहिले पूर्ण रूपमा डिजिटल आन्दोलनको रूपमा विकसित हुँदै गएको देखिन्छ।

युवाहरूमा बढ्दो बेरोजगारी, परीक्षा प्रश्नपत्र चुहावट, राजनीतिक बहस तथा संस्थागत जवाफदेहिताप्रतिको असन्तुष्टिलाई केन्द्रमा राख्दै यो अभियानले सामाजिक सञ्जालमा ठूलो समर्थन र चर्चा बटुल्दै गएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !