विकासको आधार विज्ञान र प्रविधि हो–पूर्वराष्ट्रपति भण्डारी
बिर्तामोड । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले समृद्ध नेपालको आधार विज्ञान तथा प्रविधि भएको बताउँदै यस क्षेत्रमा निजी, सामाजिक र सरकारी तहमै लगानीलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएकी छिन् ।
झापाको बिर्तामोडस्थित देवी माविको प्राङ्गणमा आजदेखि सुरु भएको कोशी प्रदेशस्तरीय विज्ञान तथा प्रविधि प्रदर्शनीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले वैज्ञानिक सोच र प्रविधिको प्रयोगमार्फत मात्र समृद्धि सम्भव हुने धारणा राखिन् ।
पूर्वराष्ट्रपति भण्डारीले विज्ञान र प्रविधिलाई प्रयोगशालाभित्र मात्र सीमित नराखी विकासको मूलधारसँग जोडेर लैजानुपर्ने आवश्यकता औँल्याइन् ।
“विद्यालय तहबाटै वैज्ञानिक सोच र प्रविधिप्रति रुचि जगाउनु पर्छ,” उनले भनिन्, “आजका बालबालिकालाई पाठ्यपुस्तकमा मात्र सीमित गर्नुभन्दा वैज्ञानिक दृष्टिकोणले सोच्न सक्ने बनाउनु जरुरी छ ।”
उनले विज्ञान तथा प्रविधिमा दक्ष बनाउने जिम्मेवारी शिक्षक, अभिभावक, सरकार र राजनीतिक दल सबैको साझा दायित्व रहेको स्पष्ट पारिन् ।
नेकपा एमाले कोशी प्रदेश विज्ञान तथा प्रविधि विभागद्वारा आयोजित उक्त प्रदर्शनीमा कोशी प्रदेशका १२ जिल्लाबाट ७० विद्यालय सहभागी छन् । विद्यालयहरूले आफ्ना स्टलमार्फत विविध विज्ञान परियोजना र प्रविधि विकास प्रदर्शन गरेका छन् ।
विभाग प्रमुख गणेश पोखरेलका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले चार लाख रुपैयाँ, दोस्रो हुनेले तीन लाख, तेस्रो हुनेले दुई लाख र सान्त्वना पुरस्कारस्वरूप एक लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
कार्यक्रममा नेकपा एमाले कोशी प्रदेशका इञ्चार्ज शेरधन राई, प्रदेश सचिव राजकुमार भण्डारी, देवी माविका प्रधानाध्यापक अम्बिका श्रेष्ठलगायतले सम्बोधन गर्दै विज्ञान तथा प्रविधिका क्षेत्रमा निरन्तर लगानी र जागरण अभियान चलाउनुपर्नेमा जोड दिएका थिए ।
प्रदर्शनीमा पार्टीका विभिन्न तहका नेताहरू, शैक्षिक सरोकारवालाहरू र विद्यार्थीको उल्लेखनीय उपस्थिति थियो । प्रदर्शनी कार्यक्रम जेठ २६ गतेसम्म सञ्चालन हुनेछ ।








