६ आश्विन २०८३, मंगलबार

चालक आत्मदाह प्रकरणमा न्यायिक छानबिन समिति गठन गर्न यातायात व्यवसायी र श्रमिकको माग

प्रकाशित मिति :  22 September, 2026 3:36 pm


काठमाडौँ । काठमाडौँको त्रिपुरेश्वरमा बस चालक दावा लामाले आत्मदाह गरी ज्यान गुमाएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारबाही गर्न यातायात व्यवसायी तथा श्रमिकका विभिन्न संघ–महासंघले माग गरेका छन् ।

६ वटा महासंघ तथा संघ–संगठनले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै चालक लामाको मृत्युको घटनालाई सामान्य चालक र ट्राफिक प्रहरीबीचको विवादका रूपमा मात्रै नहेरी कानुन कार्यान्वयन गर्ने निकायको कार्यशैली, व्यवहार र सडक शासन प्रणालीसँग जोडेर अनुसन्धान गर्नुपर्ने माग गरेका हुन् ।

संयुक्त विज्ञप्तिमा नेपाल ट्रक यातायात व्यवसायी महासंघ, नेपाल यातायात राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, सार्वजनिक यातायात केन्द्रीय महासंघ, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघका प्रतिनिधिहरूले हस्ताक्षर गरेका छन् ।

उनीहरूले घटनाको सम्पूर्ण पक्ष छानबिन गर्न सरोकारवालासहितको न्यायिक छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । विवाद सुरु भएदेखि चालकले आत्मदाह गर्दासम्मको घटनाक्रम, घटनास्थल तथा आसपासका सीसीटीभी फुटेज, प्रत्यक्षदर्शीको भनाइ, फोन सम्पर्क विवरण र सम्बन्धित प्रहरी अधिकारीको भूमिकासमेत अनुसन्धानको दायरामा ल्याउनुपर्ने उनीहरूको माग छ ।

संयुक्त विज्ञप्तिमा असोज ५ गते मूलपानीबाट यात्रु लिएर थानकोट भञ्ज्याङतर्फ जाँदै गरेको बा।५ख ४२७४ नम्बरको बस त्रिपुरेश्वरस्थित आँखा अस्पतालअगाडि पुगेका बेला मोटरसाइकलका कारण सडक आवागमनमा अवरोध भएपछि चालक लामाले हर्न बजाएको उल्लेख गरिएको छ । हर्न बजाएको विषयमा ट्राफिक प्रहरीले बस रोकेर कागजात मागेको र कारबाही गर्न खोजेको दाबी विज्ञप्तिमा गरिएको छ ।

विज्ञप्तिअनुसार त्यसपछि थप ट्राफिक प्रहरी घटनास्थलमा पुगेका थिए । बसलाई राहदानी विभागअगाडि रोकेर यात्रुलाई ओरालिएको र करिब दुई घण्टासम्म चालकलाई नियन्त्रणमा राखिएको उल्लेख छ । त्यसपछि चालकलाई काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, बग्गीखाना लैजान खोजिएको र लामाले त्यसको प्रतिवाद गरेको दाबी गरिएको छ ।

घटनापछि ट्राफिक प्रहरी कार्यालयबाट सवारीधनीलाई फोन गरी चालकलाई बग्गीखाना पठाइदिन भनिएको तथा सवारीधनीले चालकसँग सम्पर्क गरेको विज्ञप्तिमा उल्लेख छ । त्यस क्रममा लामाले आफूले गल्ती नगरेको भन्दै बग्गीखाना जान अस्वीकार गरेको र आफूले ट्राफिक प्रहरीबाट मानसिक दबाब तथा हैरानी खेपेको बताएको सवारीधनीको भनाइ उद्धृत गरिएको छ ।

सवारीधनीले चालकले बताएको अवस्थाबारे सम्बन्धित ट्राफिक प्रहरी अधिकारी तथा कार्यालयलाई जानकारी गराए पनि केही समयपछि लामाले बसको ढोका बन्द गरी आफ्नै शरीरमा आगो लगाएको र बससमेत जलेको विज्ञप्तिमा उल्लेख छ ।

यातायात व्यवसायी तथा श्रमिकका संगठनहरूले चालकलाई करिब दुई घण्टा नियन्त्रणमा राखिएको अवस्थामा आत्मदाह र सवारीसाधनमा आगजनी भएको घटनाले गम्भीर प्रश्न उठाएको बताएका छन् । उनीहरूले चालक लामालाई आत्मदाहसम्म पुग्ने अवस्था कसरी सिर्जना भयो भन्ने विषयमा तथ्यपरक अनुसन्धान आवश्यक रहेको बताएका छन् ।

उनीहरूले मृतक चालकको परिवारलाई तत्काल राहत, उचित क्षतिपूर्ति तथा पुनःस्थापनाको व्यवस्था गर्न र पूर्ण रूपमा जलेको सवारीसाधनका धनीलाई समेत क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन् ।

त्यस्तै, सबै यातायात श्रमिकलाई श्रम ऐन, २०७४ अनुसार रोजगार सम्झौता गरेर मात्रै काममा लगाउने व्यवस्था गर्न तथा सामाजिक सुरक्षा योजनामा अनिवार्य रूपमा आबद्ध गराउन माग गरिएको छ ।

ट्राफिक प्रहरीबाट हुने दुर्व्यवहार, अनावश्यक हैरानी तथा कानुनी र प्रक्रियागत समस्याबारे तत्काल उजुरी गर्न सकिने २४ घण्टे हेल्पलाइन र सुनुवाइ प्रणाली स्थापना गर्नुपर्ने माग पनि उनीहरूको छ । सडकमा ट्राफिक प्रहरीले गर्ने चेकजाँच, कारबाही र चालकसँगको व्यवहार निर्धारित कानुनी प्रक्रिया तथा आचारसंहिताअनुसार भए–नभएको नियमित अनुगमन र छानबिन गर्ने संयन्त्र बनाउन पनि उनीहरूले माग गरेका छन् ।

विज्ञप्तिमा ट्राफिक प्रहरीको कामलाई प्रविधिमैत्री र जनमुखी बनाउनुपर्ने, चेकजाँच तथा कारबाहीको अनुगमन र नियमन प्रभावकारी बनाउनुपर्ने तथा सडक तथा सवारीसम्बन्धी कानुनअनुसार ट्राफिक प्रहरीलाई प्रत्यायोजन गरिएको अधिकारको पुनरावलोकन गर्नुपर्ने माग गरिएको छ ।

यातायात श्रमिकको कार्यस्थल सुरक्षा र मानसिक सुरक्षालाई पनि यातायात सुरक्षाकै विषयका रूपमा राज्यको नीतिमा समेट्नुपर्ने उनीहरूको माग छ । साथै, देशभरका सडकमा आवश्यक बसबिसौनी, यात्रु चढ्ने–ओर्लने स्थान, शौचालय, भोजनालय, विश्रामस्थललगायतका पूर्वाधार व्यवस्थित, सुरक्षित र श्रमिकमैत्री बनाउन माग गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !