२३ बैशाख २०८१, आइतबार

यस्तो छ प्रदेश-५ सरकारको स्वास्थ्य क्षेत्रका लागि बजेट

प्रकाशित मिति :  15 June, 2020 6:28 pm


रुपन्देही,१ असार ।

प्रदेश-५ सरकारले स्तरोन्नति बाँकी हुन रुकुम पूर्व अस्पताल,रोल्पा अस्पताल,कपिलवस्तु अस्पताल,अर्घाखाँची अस्पताल, पाल्पा अस्पताल र भीम अस्पतालाई ५० शैयाँमा स्तरोन्नति गरेर सेवा बिस्तार गर्न १५ करोड रुपैयाँ बिनियोजन गरेको छ ।

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी समेत सम्हालेका मुख्यमन्त्री शंकर पोख्रेलले  प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गुणस्तरीय र सर्वसुलभ स्वास्थ्य सेवामा आम नागरिकको पहुँच अभिवृद्धि गर्न जिल्ला स्थिति अस्पतालहरुलाई ५० शैयाँको अस्पतालमा स्तरोन्नति गरी सेवा बिस्तार गर्ने नीति अनुरुप बाँकी रहेका अस्पतालका लागि रकम छुटाईएको जानकारी दिए ।

त्यस्तै स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुलाई आधारभूत सेवा दिन सक्ने गरी पूर्वाधार निर्माण गर्ने बजेटमा उल्लेख छ । स्थानीय तहसँगको लागत सहभागितामा स्वास्थ्य चौकी तथा प्राथमिक स्वास्थ्य केन्द्रहरुको स्तरोन्नती गर्न ५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।

प्रदेश सरकाले प्रदेश मातहतका सरकारी अस्पतालको पूर्वाधार विकास गर्न रुपन्देहीको भीम अस्पताल, रुकुम पूर्वको जिल्लास्तरीय अस्पताल, बर्दिया अस्पताल र नवलपरासीको पृथ्वीचन्द्र अस्पतालको नयाँ भवन निर्माण कार्यका लागि २३ करोड ९० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

कोभिड १९ लगायतका सरुवा तथा संक्रमक रोगको रोकथाम,नियन्त्रण र उपचार एवं प्रयोगशाला परीक्षण सेवासहित कम्तिमा १ सय शैयाको सरुवा रोग अस्पताल निर्माण गर्न नेपाल सरकारसँग सहकार्य गर्ने पनि बजेटमा उल्लेख छ । कोरोनाको सबैभन्दा धेरै प्रकोप देखिएको कपिलवस्तुतको शिवराज नगरपालिकामा सरुवा रोग नियन्त्रण तथा उपचार अस्पताल निर्माण सुरु गर्न १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

प्रदेश ५ सरकारले दाङको लमहीमा आधुनिक र सुविधा सम्पन्न ट्रमा सेन्टर निर्माण सुरु गर्न ५ करोड रुपैयाँ विनियोजन गरेका छ । क्यान्सर उपचारका लागि पनि बजेट विनियोजन गरिएको छ ।

बजेटमा क्यान्सर रोगको उपचारका लागि व्यक्ति तथा परिवारले भोग्नु परेको पीडालाई मध्यनजर गरी क्यान्सर अस्पतालसँगको सहकार्यमा क्यान्सर रोगको निदान,नियन्त्रण तथा रोकथामका कार्यक्रम कार्यान्वयन गर्न ५० लाख रुपैयाँ विनियोजन गर्नुका साथै गंगालाल मुटु अस्पतालको सहकार्यमा राप्ती प्रादेशिक अस्पतालमा मुटुरोग सेवा प्रदान गरिने भनिएको छ ।

प्रदेश सरकारले प्रसुती अस्पताल निर्माणका लागि विस्तृत सम्भाव्यता अध्ययन गर्ने भएको छ । प्रसुती सेवा विस्तारका साथै नवजात शिशुहरुको स्वास्थ्य परीक्षण गरी जन्मजात रोगहरुको पहिचान गनुका साथै मातृ तथा शिशु रुग्ण्ता र मृत्युदरमा कमी ल्याउन आवश्यक कार्यक्रम सञ्चालन गर्न ६ लाख २७ लाख रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।

प्रदेश र स्थानीय तहको लागत साझेजारी हुने गरी कोभिड—१९ को प्रकोपस्थल बन्न पुगेको बाँकेको नरैनापुर र शाख्न्ति प्रकृयाको थालनी भएको ऐतिहासिक स्थल दाङको हापुरेमा रहेका स्थानीय तह मातहत स्वास्थ्य संस्थाको संरचना निर्माण र सेवा विस्तारका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

बाँके र कपिलवस्तुमा आयुर्वेद स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए । रुपन्देहीको शिक्षा तालिम केन्द्रको परिसरमा बायोमेडिकल उपकरण प्राविधिक विद्यालय स्थापना गरी बायोमेडिकल इन्जिनियरिङमा डिप्लोमा कोर्स सञ्चालन गर्न १ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

बर्दिया अस्पताललाई स्टाफ नर्स, मिडवाईफजस्ता मेडिकल प्राविधिक उत्पादन गर्ने संस्थाको रुपमा विकास गर्न आवश्यक पूर्वाधार निर्माण गरिने उल्लेख छ । जसका लागि १ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

स्वास्थ्य क्षेत्रको जनशक्तिको क्षमता विकास कार्यक्रमका लागि २ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ भने प्रदेशमा स्वास्थ्य सम्बन्धि आवासीय तालिम उपलब्ध गराउन रुपन्देहीको देवदहमा स्वास्थ्य तालिम केन्द्रको पूर्वाधार विकासका लागि विस्तृत परियोजना प्रतिवेदन तर्जुमा गर्न आवश्यक बजेटको व्यवस्था गरिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।

विपन्न समुदायका नागरिकलाई सरकारी र समुदायका नागरिकलाई सरकारी र सामुदायिक अस्पतालमा गृगौला डाईलासिस गर्दा आवश्यक पर्ने इरेथ्रोपोएटिन इन्जेक्सन खरिदमा ५० प्रतिशत छुट दिन १ करोड रुपैयाँ बजेको व्यवस्था गरिएको छ । ८४ वर्ष उमेर पुगेका जेष्ठ नागरिकको घरघरमा उपलब्ध गराइँदै आएको स्वास्थ्य सेवालाई निरन्तरता दिन १ करोड ९८ लाख रुपैयाँ विनियोजन गरिएको मुख्यमन्त्री पोख्रेलले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !