लोकतन्त्र र संविधान नमान्नेहरूले नै संसद अवरुद्ध पारेका छन्ः प्रधानमन्त्री ओली
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधान नमान्नेहरूले मात्रै संसद अवरुद्ध गरिरहेको बताएका छन् ।
आइतवार बालुवाटारमा आयोजित लोकतन्त्र र जनअभिमत नेपालको निर्वाचन इतिहास लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले संसद नचाहिएकाहरूले मात्रै संसदमा अवरोध सिर्जना गरेको बताएका हुन् ।
अराजकता र राजा चाहिनेहरुले नै अहिले संसदमा अवरोध गरिरहेको उनको आरोप छ । प्रधानमन्त्री ओलीले संसदभित्रै पसेर संस्दीय व्यवस्था भत्काउने र आगो बाल्ने सोच भएकाहरूबाट वर्तमान शासन प्रणालीमा समस्या उत्पन्न भएको जिकिर गरे।
यस्ता समस्या पुराना पार्टीहरूमा पनि रहेको र त्यसलाई हटाउनुपर्ने बताए । नयाँ राजनीतिक दलहरूले पनि संविधान र कानूनभित्र बसेर आफ्ना अभिव्यक्ति दिन स्वतन्त्रता रहेको बताए ।
प्रधानमन्त्री ओलीले नेपाल अहिले श्रीलंका वा बंगलादेश कुनैपनि नबन्ने बताए । व्यवस्थामाथि प्रहार गर्नेविरुद्ध प्रतिकार गर्न पनि तयार रहेको बताए ।








