१९ मंसिर २०८२, शुक्रबार

माओवादी केन्द्रले मध्यपहाडी जनजागरण अभियान सञ्चालन गर्ने

प्रकाशित मिति :  4 August, 2025 7:20 pm


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को स्थायी कमिटी बैठकले भदौको तेस्रो सातादेखि स्थगित मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियान पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।

अत्यधिक वर्षाका कारण स्थगित अभियानलाई पुनः गतिमा लैजाने तयारीसहित बैठकले संगठनात्मक एकता र वैचारिक स्पष्टतालाई प्राथमिकतामा राख्दै अन्य महत्त्वपूर्ण निर्णय पनि गरेको हो ।

बैठकपछि उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिँदै भने, “दसैँपछि केन्द्रीय समिति बैठक बस्नेछ र त्यही बैठकबाट राष्ट्रिय महाधिवेशनको मिति टुंगो लाग्नेछ । विचारको स्वतन्त्रतालाई सम्मान गर्दै कार्यान्वयनमा एकरूपता ल्याउने निष्कर्षमा बैठक पुगेको छ ।”

सापकोटाका अनुसार बैठकले निजी स्वार्थमा आधारित गुट र स्वार्थ समूहलाई अन्त्य गर्ने सामूहिक संकल्प गरेको छ । उनले भने, “प्रतिगमन र यथास्थितिवादविरुद्ध दृढताका साथ उभिएर सामाजिक–आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धिलाई आजको राष्ट्रिय कार्यभारका रूपमा तय गरिएको छ।”

बैठकले नेकपा (विप्लव) लगायतका क्रान्तिकारी शक्तिसँग एकता पहल गर्ने र समाजवादी मोर्चाको सुदृढीकरणमा सक्रिय हुने निर्णय पनि गरेको छ । यससँगै पार्टीभित्रका विगतका गल्ती र कमजोरीको समीक्षा गर्दै सुधारका उपाय तय गरिएको प्रवक्ता सापकोटाले बताए ।

राष्ट्रियता, जनतन्त्र, जनजीविका, सुशासन र सामाजिक न्यायसम्बन्धी समसामयिक राजनीतिक प्रस्ताव पारित गर्दै खबरदारीसमेत गरिएको बैठक यही साउन १६ गतेदेखि सुरू भई आज सकिएको हो ।



प्रतिक्रिया दिनुहोस !