सूचीकृत नभएका सामाजिक सञ्जाल निष्क्रिय हुने-सूचना मन्त्री गुरुङ
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सूचीकृत हुन नआएका सामाजिक सञ्जाललाई आजदेखि निष्क्रिय बनाइने बताएका छन् ।
आज मन्त्रालयमा पत्रकारहरूसँग कुरा गर्दै मन्त्री गुरुङले नेपाल दूरसञ्चार प्राधिकरणलाई यस्तो निर्देशन दिइसकेको जानकारी दिए ।
उनले भने, “तोकिएको समयभित्र सूचीकृत गर्न नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय गराउन र सूचीकरण गरेको क्षणदेखि पुनःसक्रिय गराउन निर्देशन दिइएको छ ।”
सर्वोच्च अदालतको बृहत् पूर्ण इजलासले २०८० वैशाख १२ गते अदालत अवहेलनासम्बन्धी मुद्दामा आदेश जारी गर्दै स्वदेशी तथा विदेशी उत्पत्तिका अनलाइन तथा सामाजिक सञ्जाल प्लेटफर्मलाई सञ्चालनपूर्व सम्बन्धित निकायमा सूचीकरण गर्नुपर्ने व्यवस्था गरेको थियो ।
त्यस आदेशअनुसार मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकले नेपालमा सामाजिक सञ्जाल सञ्चालन गर्न इच्छुक व्यक्ति, कम्पनी वा संस्थालाई ७ दिनभित्र सूचीकृत हुन आव्हान गरेको थियो ।
मन्त्रालयले सार्वजनिक सूचना जारी गरी सूचीकृत हुन आउनेले सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी तथा स्वनियम परिपालनको निगरानी अधिकारी तोक्नुपर्ने व्यवस्था गरेको थियो ।
मन्त्री गुरुङका अनुसार करिब २५ वटा सामाजिक सञ्जाल सूचीकृत हुनुपर्नेछ। सूचीकरणका लागि कुनै शुल्क नलाग्ने भन्दै उनले भने, “मुलुकमा कर तिरेको छ कि छैन भन्ने होइन, सामाजिक सञ्जालले अपराधीकरण बढाएको र सामाजिक–सांस्कृतिक क्षेत्रमा खलल पुर्याएको भएकाले सूचीकरण आवश्यक भएको हो।”
उनले अदालतले सिधाकुरा डटकमसम्बन्धी मुद्दामा फैसला गर्दा सबै सामाजिक सञ्जाल सञ्चार मन्त्रालयमा दर्ता हुनुपर्ने स्पष्ट पारेको स्मरण गर्दै, दर्ता नभई सञ्चालन गर्ने सञ्जाल गैरकानुनी हुने चेतावनी दिए।








