१९ मंसिर २०८२, शुक्रबार

जेन जी आन्दोलनलाई वालेन शाहको नैतिक समर्थन, दुर्गा प्रसाईंको प्रत्यक्ष सहभागिता

प्रकाशित मिति :  7 September, 2025 10:35 pm


काठमाडौँ । भ्रष्टाचारविरोधी अभियानका रूपमा अगाडि आएको ‘जेन जी आन्दोलन’ लाई काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (वालेन) ले नैतिक समर्थन जनाएका छन्।

व्यवसायी दुर्गा प्रसाईं भने प्रत्यक्ष रूपमा सहभागी भएका छन् । यो आन्दोलन विशेषतः २८ वर्षमुनिका युवाहरूको नेतृत्वमा स्वतन्त्र र शान्तिपूर्ण नागरिक अभियानका रूपमा अघि बढिरहेको छ ।

मेयर वालेनले आइतबार सामाजिक सञ्जालमार्फत आन्दोलनप्रति ऐक्यबद्धता जनाएका हुन् । उनले लेखेका छन्, “भोलिको याली स्वतन्त्रताहरूमा Gen G को हो । उहाँहरू २८ वर्षमुनि हुनुहुन्छ, जसको लागि म पनि अझै बूढो देखिन्छु । उहाँहरूको इच्छाशक्ति, उद्देश्य, सोच बुझ्न मन छ ।”

उनले कुनै पनि दल, अभियन्ता वा नेताले आन्दोलनलाई आफ्नो स्वार्थ पूर्तिको साधन नबनाउन चेतावनी दिएका छन् । उमेरका कारण प्रत्यक्ष सहभागी हुन नसके पनि आन्दोलनको भावना, सोच र उद्देश्यप्रति पूर्ण समर्थन रहेको उनले प्रष्ट पारेका छन्।

यता, दुर्गा प्रसाईंले आन्दोलनका अगुवा युवाहरूलाई आफ्नै निवासमा स्वागत गरेका छन् । प्रत्यक्ष संवाद गर्दै उनले युवाहरूको साहस र नेतृत्वको प्रशंसा गरेका छन् ।

प्रसाईंले सामाजिक सञ्जालमा लेखेका छन्, “भ्रष्टाचारले सबै नेपालीलाई गाँजेको छ। त्यसैले भ्रष्टाचार देख्नासाथ उठेर फाल्न, अन्यायविरुद्ध लड्न र आवाज उठाउन प्रत्येक नागरिकको अधिकार मात्र होइन, कर्तव्य पनि हो ।”

जेन जी आन्दोलनका आयोजक समूहले विज्ञप्ति जारी गर्दै आफ्नो अभियान शान्तिपूर्ण, कानुनी र अनुशासित हुने बताएका छन् ।विज्ञप्तिमा भनिएको छ, “हामीको उद्देश्य भ्रष्टाचार अन्त्य गर्ने, शासन प्रणाली पारदर्शी बनाउने र युवाहरूको स्वतन्त्र आवाज स्थापित गर्ने हो ।”

आयोजकहरूले आन्दोलन कुनै दल, गुट वा नेताको निर्देशनमा नभई स्वतन्त्र नागरिक सचेतनाको रूपमा अघि बढिरहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आन्दोलनको सन्देश तीव्र रूपमा फैलिएको छ।

देशका विभिन्न सहरहरूमा युवा पुस्ताले आन्दोलनप्रति चासो देखाएका छन् । चर्चित व्यक्तित्वहरूको समर्थनपछि आन्दोलनले थप जनसरोकार र विश्वसनीयता हासिल गरेको छ ।



प्रतिक्रिया दिनुहोस !