१९ मंसिर २०८२, शुक्रबार

एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजको पहिलो जित : पोखरा निन्जाज तेस्रो हार

प्रकाशित मिति :  7 September, 2025 10:44 pm


पोखरा । एभरेस्ट महिला भलिबल लिगमा लुम्बिनी लाभाजले पहिलो जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा आइतबार भएको दोस्रो खेलमा लुम्बिनीले घरेलु टोली पोखरा निन्जाजलाई ३–२ सेटले पराजित गर्‍यो ।

पहिलो सेट १३–२५ ले गुमाएको पोखराले दोस्रो र तेस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २५–२३ र २५–१० ले जित हात पारेको थियो । तर चौथो सेटमा २८–२६ ले लुम्बिनीले नजिकैको जित निकाल्दा खेल निर्णायक पाँचौँ सेटमा पुगेको थियो ।

पाँचौँ सेटमा सुरुवातदेखि नै दबाब बनाएको लुम्बिनीले १५–१० को सहज जित दर्ता गर्दै प्रतियोगितामा पहिलो अंक जोड्यो । यस जितसँगै लुम्बिनीले दुई अंक हासिल गरेको छ भने लगातार तेस्रो हार व्यहोरेको पोखराले एक अंक मात्र जोडेको छ ।

लुम्बिनी पहिलो खेलमा कर्णाली यशविशसँग ३–१ ले पराजित भएको थियो। पोखराले भने पहिलो खेलमा कर्णाली र दोस्रो खेलमा मधेस युनाइटेडसँग हार बेहोरेको हो ।

यसअघि आइतबारै सम्पन्न पहिलो खेलमा काठमाडौं स्पाइकर्सले मधेस युनाइटेडलाई ३–१ ले हराउँदै लिगमा पहिलो जित दर्ता गरेको छ ।

काठमाडौँले पहिलो सेट २६–२४ ले जितेको थियो । दोस्रो सेट २३–२५ ले गुमाए पनि तेस्रो र चौथो सेट २५–२३ र २५–१९ ले आफ्नो पक्षमा पार्‍यो ।

लिगको चौथो दिन सोमबार दुई खेल हुने छन्। पहिलो खेल कर्णाली यशविश र काठमाडौं स्पाइकर्सबीच हुनेछ । दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबीच हुने छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी यो लिग भदौ २८ गतेसम्म सञ्चालन हुनेछ ।



प्रतिक्रिया दिनुहोस !