१९ मंसिर २०८२, शुक्रबार

रुपन्देहीमा जेन-जी आन्दोलनबाट क्षतिग्रस्त संरचनाको मुख्यमन्त्री आचार्यद्वारा अनुगमन

प्रकाशित मिति :  25 September, 2025 9:43 pm


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले जेन-जी आन्दोलनका कारण रुपन्देहीमा ध्वस्त भएका सरकारी, निजी तथा राजनीतिक दलका कार्यालयहरूको अनुगमन गरेका छन् ।

भदौ २३ र २४ गतेको आन्दोलनमा व्यापक आगजनी र तोडफोडपछि सेवा प्रवाह प्रभावित भएपछि मुख्यमन्त्री आचार्यले बिहीबार भैरहवा र बुटवलका विभिन्न स्थानमा पुगेर क्षतिको अवस्थाबारे जानकारी लिएका हुन् । यसअघि उनले अर्घाखाँची, प्यूठान, दाङ र बाँके जिल्लामा पनि अनुगमन गरिसकेका छन् ।

अनुगमनका क्रममा मुख्यमन्त्री आचार्यले घटनाको निष्पक्ष न्यायिक छानबिन गरी दोषीलाई कानुनी कारबाहीमा ल्याउन संघीय सरकारसँग आग्रह गरे । उनले भने, “आन्दोलनको नाममा सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा आगजनी, तोडफोड र लुटपाट गरियो । यस्तो अराजक गतिविधि स्वीकार्य छैन, दोषीलाई कानुनी कठघरामा उभ्याउनैपर्छ ।”

आचार्यले सेवा प्रवाहलाई पुरानै अवस्थामा फर्काउन प्रदेश सरकारले पहल थालेको उल्लेख गर्दै कर्मचारी र सेवाग्राहीको मनोबल उच्च बनाउन निरन्तर अनुगमन भइरहेको बताए । “कतिपय ठाउँमा टेन्ट टाँगेर भए पनि सेवा सुरु गरिएको छ, स्थानीय तह र कार्यालयहरू क्रमशः सञ्चालनमा फर्किरहेका छन्,” उनको भनाइ छ ।

जेन-जी आन्दोलनका क्रममा रुपन्देहीमा आन्तरिक राजस्व कार्यालय, सिद्धार्थनगर नगरपालिका, नापी कार्यालय, भैरहवा भन्सार, जिल्ला ट्राफिक कार्यालय, बुटवल उपमहानगरपालिका, उच्च अदालत बुटवल, प्रदेश प्रमुख कार्यलय, प्रदेश लोकसेवा आयोगलगायतका संरचना ध्वस्त भएका थिए । साथै, मन्त्री, पूर्वमुख्यमन्त्री, जनप्रतिनिधि र सर्वसाधारणका निजी घर, होटल तथा पार्टी कार्यालयमा पनि क्षति पुगेको छ ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयका अनुसार आन्दोलनका क्रममा प्रदेशभर १३२ सरकारी कार्यालय, ६७ निजी सम्पत्ति, ५२ राजनीतिक दलका कार्यालय र १४ प्रहरी कार्यालयमा तोडफोड तथा आगजनी भएको प्रारम्भिक विवरण प्राप्त भएको छ ।



प्रतिक्रिया दिनुहोस !