पाकिस्तानलाई हराउँदै भारत पुनः एसिया कप विजेता
काठमाडाैँ । भारतले पाकिस्तानलाई हराउँदै एसिया कप २०२५ को उपाधि जितेको छ । यूएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सोमबार सम्पन्न रोमाञ्चक फाइनलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै उपाधि रक्षा गरेको हो ।
साविक विजेता भारतले प्रतियोगिता अवधिभर अपराजित रहँदै उपाधि जितेको हो । ४० वर्षको एसिया कप इतिहासमा भारतले पहिलो पटक फाइनलमा ‘आर्च राइभल’ पाकिस्तानलाई हराउँदै ट्रफी उठाएको छ ।
योसँगै भारतको यो नवौं एसिया कप उपाधि बनेको छ । भारतले यसअघि सात पटक एकदिवसीय फर्म्याटमा र सन् २०१६ मा टी–२० फर्म्याटमा उपाधि जितेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तान १९.१ ओभरमै अलआउट हुँदै १४६ रनमा सीमित भयो । १४७ रनको सामान्य लक्ष्य पछ्याएको भारतले १९.४ ओभरमा ५ विकेट गुमाउँदै १५० रन पूरा गर्दै जित हात पारेको हो ।
भारतका लागि तिलक बर्माले अविजित ६९ रनको चम्किलो पारी खेले । ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका बर्मा जितका नायक बने । अन्तिम बलमा रिन्कु सिंहले चौका प्रहार गर्दै ४ रनमा अविजित रहे ।
सुरुवाती चरणमै भारतले पावरप्ले भित्र ३ विकेट गुमाएको थियो । तर बर्माले सन्जु सामसन (२४) सँग ५७ रन र शिवम् दुबे (३३) सँग ६० रनको साझेदारी गर्दै टिमलाई जितको बाटोमा डोर्याए ।
ओपनर अभिषेक शर्मा ५ र शुभ्मन गिल १२ रनमा आउट भए भने कप्तान सुर्यकुमार यादव खाता नै नखोली पाभेलियन फर्किए । पाकिस्तानका लागि फहिम असरफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अबर अहमदले १–१ विकेट हात पारे ।
पाकिस्तानका लागि साहिबजादा फरहानले ३८ बलमा ५७ रन बनाए । उनले ५ चौका र ३ छक्का प्रहार गर्दै फखर जमानसँग ८४ रनको साझेदारी गरे । जमानले ३५ बलमा ४६ रन योगदान दिए । तर उत्कृष्ट सुरुवातपछि पाकिस्तानको मिडलअर्डर फेरि कोल्याप्स भयो ।
११३ रनको अवस्थामा दोस्रो विकेट गुमाएको पाकिस्तानले थप २४ रनमा ५ विकेट गुमायो । अन्ततः १९.१ ओभरमा पाकिस्तान १४६ रनमै अलआउट भयो ।
भारतका स्पिनरले अपेक्षित प्रदर्शन गरे । कुलदिप यादवले सर्वाधिक ४ विकेट लिए भने अक्षर पटेल, वरुण चक्रवर्ती र जसप्रित बुमराहले समान २–२ विकेट हात पारे ।
पाकिस्तानको ब्याटिङ अव्यवस्थित प्रदर्शन र भारतका बलर–बल्लर दुवैको सन्तुलित खेलले फाइनलमा फरक पार्यो । यस जितसँगै भारतले पुनः एसिया कप च्याम्पियन बनेको छ भने पाकिस्तानको निरन्तर मिडलअर्डर समस्या अझै सतहमा आएको छ ।








