१९ मंसिर २०८२, शुक्रबार

नेपालले वेस्ट इन्डिजलाई पराजित गर्दै ऐतिहासिक टी–२० श्रृंखला जित्यो

प्रकाशित मिति :  30 September, 2025 7:52 am


काठमाडाैँ । बडादसैँको अवसरमा नेपाली क्रिकेट टिमले सम्पूर्ण नेपालीलाई ऐतिहासिक खुशी दिएको छ । नेपालले यूएईको शारजहाँ क्रिकेट मैदानमा आयोजित तीन खेलको टी–२० अन्तर्राष्ट्रिय श्रृंखलामा बलियो मानिएको टेष्ट मान्यताप्राप्त राष्ट्र वेस्ट इन्डिजलाई पराजित गर्दै श्रृंखला आफ्नो पक्षमा पारेको हो ।

नेपालले सोमबार राति भएको दोस्रो खेलमा ९० रनले जित निकाल्दै लगातार दोस्रो जितसँगै एक खेलअघि नै श्रृंखला आफ्नो नाममा लेखाएको हो । यससँगै कुनै पनि टेष्ट राष्ट्रविरुद्ध श्रृंखला जित्ने ऐतिहासिक उपलब्धि नेपाली टिमले हासिल गरेको छ ।

पहिलो खेलमा १९ रनको जितसहित इतिहास रचेको नेपालले दोस्रो खेलमा अझै प्रभावशाली प्रदर्शन गर्‍यो । पहिले ब्याटिङ गरेको नेपालले ६ विकेट गुमाउँदै १७३ रनको बलियो योगफल बनायो ।

यसमा ओपनर आसिफ शेखले ४७ बलमा अविजित ६८ रन र सन्दीप जोराले ३९ बलमा ६३ रनको योगदान दिए । चौथो विकेटका लागि दुबैबीच सय रनको शानदार साझेदारी रह्यो ।

जवाफमा वेस्ट इन्डिज १७.१ ओभरमै ८३ रनमा अलआउट भयो । जासन होल्डरले २१ रन बनाए पनि अन्य खेलाडी नेपाली बलिङको उत्कृष्ट आक्रमण अघि टिक्न सकेनन् । तीन वर्षपछि राष्ट्रिय टोलीमा पुनरागमन गरेका मोहम्मद अदिल आलमले शानदार प्रदर्शन गर्दै ४ ओभरमा २४ रन खर्चेर ४ विकेट लिए ।

कुशल भुर्तेलले ३ विकेट झारे भने ललित राजबंशी, दिपेन्द्र सिंह ऐरी र करण केसीले १–१ विकेट हात पारे । नेपाल क्रिकेटका लागि यो जित ऐतिहासिक मात्र नभई आत्मविश्वास बढाउने उपलब्धि बनेको छ ।

अब तेस्रो खेल आज राति नेपाली समयअनुसार ८ः१५ बजे हुँदैछ । यो खेल जिते नेपालले वेस्ट इन्डिजलाई क्लिन स्वीप गर्दै थप ठूलो इतिहास रच्नेछ ।



प्रतिक्रिया दिनुहोस !