विश्वकप सपना साकार पार्ने तयारीमा नेपाल : आज कुवेतसँग पहिलो भिडन्त
काठमाडौँ । नेपाली क्रिकेटले आज राति अर्को इतिहास रच्ने सपना बोकेर मैदानमा प्रवेश गर्न लागिएको छ। आईसीसी पुरुष टी–२० विश्वकप २०२६ को एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोट प्रतियोगिताअन्तर्गत नेपालले आज बेलुकी पौने ९ बजे कुवेतविरुद्ध आफ्नो पहिलो खेल खेल्दैछ।
यो खेल नेपालका लागि केवल छनोट यात्राको सुरुवात होइन, तेस्रो पटक विश्वकपमा पुग्ने ऐतिहासिक अवसर हो। अभ्यास खेलमै बलियो वेस्ट इन्डिजलाई पराजित गरेको उच्च मनोबल र महिनौँको तयारीका कारण नेपाल यसपटक प्रतियोगिताकै प्रमुख दाबेदारका रूपमा हेरिएको छ तर प्रतियोगितामा प्रतिस्पर्धा त्यति सजिलो छैन । नौ टोली सहभागी यस प्रतियोगिताबाट शीर्ष तीन टोलीले मात्रै भारत र श्रीलंकामा हुने टी–२० विश्वकप २०२६ का लागि टिकट पाउनेछन् ।
असोज ३१ गतेसम्म ओमानमा चल्ने यस प्रतियोगितामा एसिया र इस्ट एसिया–प्यासिफिक क्षेत्रलाई पहिलोपटक एकैसाथ समेटिएको छ । समूह बी मा रहेको नेपालले कुवेत र जापानसँग खेल्नेछ। समूह ए मा मलेसिया, कतार र यूएई छन् भने समूह सी मा ओमान, पपुवा न्युगिनी (पीएनजी) र सामोआ रहेका छन्। प्रत्येक समूहबाट शीर्ष दुई टोलीहरू सुपर सिक्स चरणमा पुग्नेछन्, जहाँ शीर्ष तीन टोलीले विश्वकपमा स्थान पाउनेछन्।
भारत र श्रीलंकामा हुने आगामी टी–२० विश्वकपमा कुल २० टोली रहने छन्। तीमध्ये १७ टोलीको टुंगो पहिल्यै लागिसकेको छ। आयोजकका रूपमा भारत र श्रीलंका सिधै छनोट भएका छन् भने अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इङ्ल्यान्ड, दक्षिण अफ्रिका, अमेरिका र वेस्ट इन्डिज सन् २०२४ विश्वकपको प्रदर्शनका आधारमा छनोट भएका हुन्। यस्तै आयरल्यान्ड, न्युजिल्यान्ड, पाकिस्तान, क्यानडा, इटाली, नेदरल्यान्ड्स, नामिबिया र जिम्बाब्वे पनि विभिन्न क्षेत्रीय छनोटबाट सहभागिता सुनिश्चित गरिसकेका छन्।
नेपालका लागि कुवेत पुरानो प्रतिद्वन्द्वी हो। दुबैबीच अहिलेसम्म तीन टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन्, जसमा दुई खेल नेपालले जितेको र एक खेल कुवेतले जितेको छ। यसपटक पनि नेपालको मनोबल उच्च छ, तर कुवेतका कप्तान मोहम्मद अस्लामसहित क्लिन्टो आन्टो, मित भावसार, अनुपदीप चेन्थामारा र बिलाल ताहिर जस्ता स्टार खेलाडीहरूले बलियो चुनौती दिने अनुमान छ। कुवेत हाल टी–२० आई वरीयतामा २३औं स्थानमा छ।
नेपालले दोस्रो खेल अक्टोबर १० मा जापानविरुद्ध खेल्नेछ। समूह चरणमा राम्रो प्रदर्शन गर्न सके नेपाल सुपर सिक्समा सहज प्रवेश गर्न सक्छ, तर त्यहाँ यूएई र ओमान जस्ता बलिया टोलीहरूसँगको भिडन्तले नेपालको वास्तविक परीक्षा लिनेछ।
गत महिना यूएईमा वेस्ट इन्डिजविरुद्धको टी–२० शृंखला २–१ ले जितेर इतिहास रचेको नेपाल अहिले उच्च आत्मविश्वासमा छ। त्यसअघि अस्ट्रेलियामा ‘टप इन्ड सिरिज’ र विभिन्न प्रान्तीय टोलीहरूसँग अभ्यास खेल खेल्दै टोलीले बलियो संयोजन बनाएको थियो। ओमानमा पुगेपछि भएका दुई अभ्यास खेलमा पनि नेपालले उत्कृष्ट प्रदर्शन गरेको छ।
यो सकारात्मक तयारी र अनुभवले नेपाललाई यसपटक विश्वकप पुग्ने बलियो दाबेदार बनाएको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा ओपनर जोडी आसिफ शेख र कुशल भुर्तेलले राम्रो लय समातेका छन्। मिडल अर्डरमा दीपेन्द्रसिंह ऐरी र कुशल मल्लको आक्रामकता टोलीको बल बनेको छ भने बलिङतर्फ सन्दीप लामिछाने, करण केसी र सोमपाल कामीको अनुभवले टोलीलाई सन्तुलित बनाएको छ।
नेपालका लागि यो छनोट मात्र होइन, इतिहास रच्ने अवसर हो। यदि समूह चरणमा लगातार राम्रो प्रदर्शन गर्न सकियो भने, सुपर सिक्सबाट शीर्ष तीनमा पर्न नेपाल सक्षम देखिन्छ। अब राति पौने ९ बजेदेखि सुरु हुने पहिलो खेलले नै तय गर्नेछ-नेपाल आफ्नो तेस्रो विश्वकप यात्रातर्फ कति दृढ छ।








