१९ मंसिर २०८२, शुक्रबार

नेपालले जित्यो महिला टी–२० सिरिज : मलेसियामाथि ५ विकेटको शानदार जित

प्रकाशित मिति :  8 October, 2025 11:53 am


काठमाडौँ । नेपाली महिला क्रिकेट टोलीले मलेसियाविरुद्धको पाँच खेलको टी–२० अन्तर्राष्ट्रिय सिरिज ३–२ को अन्तरले जित्दै ऐतिहासिक उपलब्धि हात पारेको छ ।

बुधबार मलेसियाको बायुमास ओभलमा सम्पन्न निर्णायक खेलमा नेपालले घरेलु टोली मलेसियालाई ५ विकेटले पराजित गर्दै सिरिज आफ्नो पक्षमा पारेको हो ।

टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १०३ रनको मध्यम लक्ष्य प्रस्तुत गरेको थियो । कप्तान विनिफर दुरासिंगमले मलेसियाका लागि सर्वाधिक ४० रनको योगदान दिइन् ।

उनले ४६ बलमा ५ चौका प्रहार गरेकी थिइन् । त्यस्तै, माहिरा इस्मेलले १९, एना हमिजा हसिमले १५ र नुर दनिया सुहादाले ११ रन जोडे ।

नेपालको बलिङ तर्फ कविता कुँवर र राजमती ऐरीले उत्कृष्ट प्रदर्शन गर्दै समान ३–३ विकेट लिए भने रचना चौधरीले १ विकेट हात पारिन् ।

१०४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको नेपालले १८ ओभरमै ५ विकेटको क्षतिमा लक्ष्य पुरा गर्‍यो । नेपालका लागि रुवी पोदारले सर्वाधिक २६ रन बनाइन् । उनले २५ बलमा २ चौका प्रहार गरिन् ।

त्यस्तै, पुजा महतोले २३, कविता कुँवरले १४, सम्झना खड्काले १३, र रुबीना क्षेत्रीले १५ रनको योगदान दिए । अन्त्यमा कविता जोशी १ रनमा अविजित रहिन् ।

मलेसियाको बलिङ तर्फ एना हमिजा हसिम, नुर दनिया सुहादा, इशा एलिसा, माहिरा इस्लामी र नुर नुरमिजाले समान १–१ विकेट लिए ।

यसअघि सिरिजको पहिलो खेलमा नेपाल ३ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ६ विकेटको जित हात पारेको थियो । तेस्रो खेलमा नेपाल १३ रनले पराजित भए पनि चौथो खेलमा ६ विकेटको जित निकाल्दै सिरिज बराबरीमा ल्याएको थियो । अन्ततः निर्णायक पाँचौँ खेल जित्दै नेपालले सिरिज ३–२ को अन्तरले आफ्नो नाममा लेखाएको हो ।

यस जितसँगै नेपाली महिला टोलीले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो क्षमताको पुनः परिचय दिएको छ । विशेषज्ञहरूले नेपालका बलरहरूको अनुशासित प्रदर्शन र मिड–अर्डर ब्याटरहरूको सन्तुलित खेललाई सिरिज जितको प्रमुख आधार भनेका छन् ।

सिरिज जितसँगै नेपाली महिला क्रिकेट टिमको मनोबल उच्च बनेको छ र आगामी अन्तर्राष्ट्रिय प्रतियोगिताहरूका लागि आत्मविश्वासमा उल्लेखनीय वृद्धि भएको छ ।



प्रतिक्रिया दिनुहोस !