१९ मंसिर २०८२, शुक्रबार

विश्वकपको ढोका नजिक नेपाली टोली : आज जापानसँग निर्णायक भिडन्त

प्रकाशित मिति :  10 October, 2025 8:02 am


काठमाडाैँ । आइसिसी टी–२० विश्वकप २०२६ को यात्रा तय गर्ने दिशामा अघि बढेको नेपाली क्रिकेट टोलीका लागि आजको खेल निर्णायक बन्न पुगेको छ । ओमानमा जारी एसिया एन्ड इएपी छनोटको समूह–२ अन्तर्गत नेपाल आज अपराह्न सवा ४ बजे जापानसँग भिड्दैछ।

नेपाल र जापान दुवै टोलीले एक–एक खेल जितेर सुपर–६ चरणको सुनिश्चितता गरिसकेका छन्। तर आजको भिडन्त समूह विजेता तय गर्ने मात्र नभई सुपर–६ चरणमा लगिने अंक निर्धारणका दृष्टिले समेत अत्यन्त महत्वपूर्ण मानिएको छ।

बुधबार नेपालले कुवेतलाई ५८ रनले पराजित गरेको थियो भने बिहीबार जापानले त्यही कुवेतमाथि ५ विकेटको प्रभावशाली जित हात पारेको थियो । त्यसैले आजको खेल दुई विजयी टोलीबीचको आत्मविश्वासपूर्ण प्रतिस्पर्धा बन्ने अपेक्षा गरिएको छ।

कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको नेपाल भर्खरै युएईको शारजाहमा वेस्ट इन्डिजविरुद्धको टी–२० सिरिज २–१ ले जित्दै उच्च मनोबलमा छ । सोही लयलाई निरन्तरता दिँदै नेपालले लगातार दोस्रो पटक विश्वकपमा स्थान बनाउने लक्ष्य लिएको छ।

आइसिसी टी–२० विश्वकप २०२६ भारत र श्रीलंकामा हुने तय छ । यस क्षेत्रीय छनोटबाट तीन टोलीले मात्र विश्वकपका लागि टिकट पाउनेछन् । सुपर–६ पछि शीर्ष तीनमा पर्ने टोली विश्वकप यात्रा तय गर्नेछ ।

नेपालको समूहमा जापान र कुवेत रहेका छन् भने अन्य समूहहरूमा युएई, मलेसिया, कतार, ओमान, पिएनजी र सामोआ रहेका छन् ।

नेपाली टोली
रोहित कुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदिल अन्सारी, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुलशन झा, सोमपाल कामी ।



प्रतिक्रिया दिनुहोस !