जेन–जी सोचलाई राष्ट्रिय मूल्य बनाऔं, दलको जालोमा नथुनौं
जेन–जी आन्दोलन उमेरको सीमाभन्दा परको विचार हो । यसलाई दलमा सीमित नगरी पारदर्शिता, जवाफदेहिता र सुशासनका ‘डिफल्ट’ नागरिक मूल्यका रूपमा संस्थागत गर्नुपर्छ ।
भदौ २३–२४ का दिन स्वतःस्फूर्त रूपमा सडकमा उत्रिएको जनआवाजले एउटा कुरा स्पष्ट पार्यो-नेपालको राजनीतिक समस्या नेताको हैसियतमा होइन, प्रणालीको सोचमा छ । यही सन्देशलाई “जेन–जी आन्दोलन” नाम दिइयो । सुरुमा यो केही युवाको विरोधजस्तो देखिए पनि यसले सबै उमेरका नागरिकमा साझा चेतना जगायो-भ्रष्टाचारविरुद्धको आवाज, दण्डहीनताको अन्त्य, सुशासन र पारदर्शिता। त्यसैले जेन–जी केवल उमेरको परिचय होइन, विचारको आन्दोलन हो । अहिले केही वृत्तमा यस आन्दोलनलाई नयाँ दलमा रूपान्तरण गर्ने छलफल चलिरहेको छ, तर त्यो बाटो गलत दिशातर्फ लग्न सक्छ। दल क्षणिक हुन्छ, विचार स्थायी हुन्छ ।
नेपालको राजनीतिक इतिहासले देखाएको छ-विचारविहीन दल टिक्दैनन्। नेताको लोकप्रियता वा भीडको आवेगमा बनेका धेरै दलहरू समयकै परीक्षामा हराए । जेन–जी आन्दोलनले उठाएको मूल्य भने पुस्ता–पुस्तामा जीवित रहन सक्ने प्रकृतिको हो । यसलाई दलको सीमामा बाँध्ने क्षणिक निर्णयले यसको शक्ति खुम्च्याउँछ, सार्वभौमिकता हराउँछ र साझा नागरिक–स्वर दलको नाफा–नोक्सानमा गुम्छ । बरु यो आन्दोलनलाई राष्ट्रिय “डिफल्ट” मूल्यका रूपमा रूपान्तरित गर्नुपर्छ-जहाँ पारदर्शिता, जवाफदेहिता, सुशासन र सीपमुखी विकास शासन–प्रणालीका अनिवार्य नियम बनून् ।
दलहरूले सरकार फेर्छन्, तर शासन–संस्कृति बदल्ने काम विचारले मात्रै गर्न सक्छ। जेन–जी आन्दोलनको सार यही हो। दलमा परिणत हुँदा यो सोच पुराना दलझैँ गुटबन्दी, पद बाँडफाँट र चुनावी अङ्कगणितमा अड्किनेछ तर विचार समूह बनेर नागरिक दबाब सिर्जना गर्न सके, जुनसुकै सरकार भए पनि प्रणालीलाई सुधार गर्न बाध्य पार्न सकिन्छ । यही कारण अब यो आन्दोलनलाई संस्थागत “डिफल्ट”को रूपमा अगाडि बढाउनु जरुरी छ ।
डिफल्ट भन्ने अर्थ स्थायी सेटिङ हो-जसरी कम्प्युटरमा हटाउन नसकिने आधारभूत नियम हुन्छ, त्यसरी नै शासन प्रणालीमा पारदर्शिता, समयसीमा, न्याय र सीप–रोजगारीजस्ता मूल्य अनिवार्य बन्नुपर्छ । बजेट र ठेक्का खुला डेटा प्रणालीमार्फत् सार्वजनिक हुने, नागरिक सेवामा समयसीमा तोकिने, मुद्दाको ट्रयाकिङ हुने र शिक्षा प्रणाली सीप–रोजगारीसँग जोडिने-यी चार आधारभूत नियम ‘डिफल्ट’ नीति बन्ने हो भने नेपाल स्थायीतर्फ बढ्छ। यी कुनै दलका घोषणापत्र होइनन्, राज्यका स्थायी मूल्य हुन् ।
दल आउँछन्, जान्छन्, नेतृत्व फेरिन्छ तर शासनको मूल सोच स्थायी हुनुपर्छ। जेन–जी आन्दोलनले उठाएको मुद्दा त्यस सोचको जग हो । यसलाई दल होइन, राष्ट्रिय चेतनाको स्थायी मापदण्ड बनाउन सके नेपालले सुशासन र जवाफदेहिताको नयाँ युगमा प्रवेश गर्नेछ । अब समयले माग गरेको छ-जेन–जीलाई दलको जालोमा नथुनौँ। बरु यसलाई नागरिक मूल्य, पारदर्शी शासन र दीर्घकालीन सुधारको डिफल्ट सोचका रूपमा आत्मसात् गरौँ। यही बाटोले मात्र देश स्थायी स्थिरता र विश्वसनीय लोकतन्त्रतर्फ उन्मुख हुनेछ ।








