लगातार दोस्रो जितसँगै नेपाल सुपर सिक्समा प्रवेश : जापानमाथि सानदार जित
काठमाडाैँ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राख्दै लगातार दोस्रो जित हात पारेको छ । शुक्रबार सम्पन्न खेलमा नेपालले जापानलाई ५ विकेटले पराजित गर्दै सुपर सिक्समा २ अंकसहित प्रवेश गरेको हो ।
१३२ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले १८औं ओभरमै जित निकालेको हो । सुरुवातमा केही विकेट गुमाए पनि अन्त्यतिर गुलशन झा र दीपेन्द्रसिंह ऐरीले संयमित ब्याटिङ गर्दै जित सुनिश्चित गरे । गुलशन २८ रनमा र ऐरी १४ रनमा अविजित रहे ।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ रन बनाए भने कुशल भुर्तेल र कप्तान रोहित पौडेलले क्रमशः २१ र १८ रनको योगदान दिए ।
यसअघि टस हारेर ब्याटिङ गरेको जापानले कप्तान केन्डल काडोवाकी फ्लेमिङको ६० रनको आकर्षक प्रदर्शनमा १३१ रनको योगफल बनाएको थियो ।
नेपालका बलरहरू उत्कृष्ट रहे-गुलशन झा र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले १–१ विकेट जोडे ।
यो जितसँगै नेपालले सुपर सिक्समा २ अंक जोड्दै विश्वकप मुख्य चरणतर्फको यात्रामा बलियो सन्देश दिएको छ । क्रिकेट विश्लेषकहरूका अनुसार, “नेपालले ब्याटिङ, बलिङ र टोली संयोजनमा निरन्तर सुधार देखाउँदै विश्व स्तरमा प्रतिस्पर्धी रूप स्थापित गरेको छ ।”








