१९ मंसिर २०८२, शुक्रबार

सिटिइभिटीका १५ हजार उत्तरपुस्तिका जले : विद्यार्थीहरुले पुन: परीक्षा दिनुपर्ने

प्रकाशित मिति :  12 October, 2025 6:32 am


काठमाडाैँ । गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा जलेका उत्तरपुस्तिकाका कारण देशभर करिब १५ हजार विद्यार्थीलाई पुनः परीक्षा दिनुपर्ने भएको छ।

आन्दोलनका क्रममा प्रहरी चौकीमा राखिएका उत्तरपुस्तिका जलेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले नयाँ तालिका बनाएर कात्तिक ३० गतेदेखि पुनः परीक्षा सञ्चालन गर्ने तयारी गरेको हो।

बागमती र कोशी प्रदेशका २३ प्रहरी चौकीमा रहेका उत्तरपुस्तिका पूर्ण रूपमा जलेका छन्। तीमध्ये धेरैजसो काठमाडौँका इन्जिनियरिङ र स्वास्थ्य शिक्षाका विद्यार्थीका हुन्।

उत्तरपुस्तिका नष्ट भएपछि विद्यार्थीहरू आन्तरिक मूल्याङ्कनका आधारमा अंक प्रदान गर्न माग गरिरहेका छन्। तर, सिटिइभिटीले मूल्याङ्कनको पारदर्शिता र विश्वसनीयताका कारण परीक्षा नै दोहोर्‍याउनुपर्ने जनाएको छ।

सदस्यसचिव महेश भट्टराईका अनुसार, “विद्यार्थीको भविष्य र अन्तर्राष्ट्रिय स्तरमा मान्य हुने प्रमाणपत्रका लागि निष्पक्ष मूल्याङ्कन अनिवार्य छ। त्यसैले पुनः परीक्षा नै उचित विकल्प हो।”

तर विद्यार्थी पक्षले भने दुई पटक परीक्षा दिनुपर्ने बाध्यता अन्यायपूर्ण भएको भन्दै असन्तोष व्यक्त गरेका छन्। उनीहरूका अनुसार आन्दोलन उनीहरूले नगरेको हुँदा त्यसको मूल्य उनीहरूले तिर्नु नपर्ने हो।

यसबीच, सिटिइभिटीले स्थगित र जलेका दुवै प्रकारका परीक्षा मङ्सिर महिनाभित्र सक्ने योजना बनाएको छ। तर विद्यार्थीहरू अझै ‘मानसिक बोझ र दोहोरो तयारी’को अवस्थाबाट गुज्रिन बाध्य छन्।



प्रतिक्रिया दिनुहोस !