१९ मंसिर २०८२, शुक्रबार

नेपाल र यूएईबीच आज रोमाञ्चक भिडन्त : सुपर सिक्स यात्राको पहिलो खेल

प्रकाशित मिति :  12 October, 2025 7:53 am


दाङ । ओमानमा जारी आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटअन्तर्गत सुपर सिक्स चरणका खेलहरू आजदेखि सुरु हुँदैछन् । नेपालले आफ्नो पहिलो खेलमा चिरपरिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई) सँग प्रतिस्पर्धा गर्नेछ ।

खेल अल अमेरातस्थित ओमान क्रिकेट एकेडेमी टर्फ–१ मैदानमा आज अपराह्न ४:१५ बजेदेखि सुरु हुनेछ । समूह चरणमा नेपाल र यूएई दुवै अपराजित टोलीका रूपमा सुपर सिक्समा प्रवेश गरेका हुन् । यूएईले कतार र मलेसियालाई हराएको थियो भने नेपालले कुवेत र जापानलाई पराजित गरेको थियो ।

नेपालका लागि आजको खेल निकै महत्वपूर्ण हुनेछ । यूएईलाई पराजित गर्न सके बलियो सुरुवातसहित विश्वकप छनोटको अन्तिम चरणमा पुग्ने सम्भावना बढ्नेछ । दुवै टोली पछिल्लो समयमा राम्रो लयमा छन् र टेस्ट राष्ट्रलाई समेत हराइसकेका छन्, जसले आजको खेललाई अझ प्रतिस्पर्धात्मक बनाएको छ ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र यूएईबीच अहिलेसम्म १० पटक आमनेसामने खेल भइसकेको छ । तीमध्ये दुवैले पाँच–पाँच खेल जितेका छन् । पछिल्लो पटक एसीसी प्रिमियर कपमा नेपाल यूएईसँग पराजित भएको थियो ।

सुपर सिक्स चरणमा नेपालले आज यूएईपछि सोमबार कतार, बुधबार सामोआ र शुक्रबार आयोजक ओमानसँग खेल्नेछ । राष्ट्रिय टोलीका समर्थकहरू आजको खेलमा नेपालको शानदार प्रदर्शनको अपेक्षा गर्दै छन् ।



प्रतिक्रिया दिनुहोस !