दीपेन्द्र चम्किँदा नेपाल एक रनले विजयी : अन्तिम ओभरमा लिए तीन विकेट
दाङ । ओमानको अल अमरात क्रिकेट मैदानमा सम्पन्न आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एशिया प्यासिफिक छनोट अन्तर्गत सुपर सिक्स चरणको पहिलो खेलमा नेपालले रोमाञ्चक जित दर्ता गरेको छ । नेपालले यूएईलाई एक रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १४० रनको योगफल तयार पार्यो । नेपालका ओपनर तथा विकेटकिपर आसिफ शेखले उत्कृष्ट प्रदर्शन गर्दै ४७ बलमा ४ चौका र १ छक्कासहित ५१ रनको अर्धशतक पूरा गरे । कुशल भुर्तेलले २६ बलमा २८ रन र कप्तान रोहित पौडेलले १९ बलमा २० रन जोडे।
१४१ रनको लक्ष्य पछ्याउन उत्रिएको यूएईले अन्तिम ओभरसम्म खेललाई रोमाञ्चक बनायो। तर अन्तिम ओभरमा नेपालका दीपेन्द्रसिंह ऐरीले शानदार प्रदर्शन गर्दै तीन विकेट झारेपछि यूएई २० ओभरमा ९ विकेट गुमाउँदै १३९ रनमै रोकियो।
दीपेन्द्रको निर्णायक बलिङ र नेपालका बलरहरूको सन्तुलित खेलले टोलीलाई एक रनको ऐतिहासिक जित दिलायो। यो जितसँगै नेपालले सुपर सिक्स चरणमा विजयी सुरुवात गर्दै आगामी खेलका लागि आत्मविश्वास बलियो बनाएको छ।








