१९ मंसिर २०८२, शुक्रबार

पत्रकारितामा एआई : एआईलाई डर होइन, अवसरका रूपमा लिनुपर्छ-पाेखरेल

प्रकाशित मिति :  13 October, 2025 3:12 pm



दाङ । नेपाल पत्रकार महासंघ दाङले ‘पत्रकारितामा एआई’ विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्लामा क्रियाशील पत्रकारहरुको सहभागीता रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेलले पत्रकारितामा एआईलाई अवसरको रूपमा लिनुपर्ने धारणा राखे । उनका अनुसार प्रविधिलाई डर होइन, दक्षता बनाउन सिक्नुपर्ने बेला आएको बताए ।

“एआईले पत्रकारिताको इमान, अनुसन्धान र विश्लेषण क्षमतालाई नयाँ उचाइमा पु¥याउन सक्छ”, पोखरेलले भने, “नेपाल पत्रकार महासंघले प्रविधि र पत्रकारिताको सहअस्तित्वबारे अध्ययन, संवाद र नीतिगत तयारी अघि बढाइरहेको जानकारी पनि दिए ।

एआई नीतिको पालना गर्दै पत्रकारितामा एआईको पालना गर्न आग्रह गर्दै पाखरेलले भने, “पत्रकारहरुले एआई नीतिको पालना गर्नुपर्दछ । ‘पत्रकार महासंघले एआई र पत्रकारिता’ सम्बन्धी नीति संवाद र अनुसन्धान केन्द्रित कार्यक्रम श्रृंखला सञ्चालन गर्नुपर्छ ।”

पोखरेलका अनुसार एआईको प्रयोगले समाचार संकलन, सम्पादन र वितरण प्रणालीमा गति ल्याउने भए पनि यसको जिम्मेवार प्रयोगका लागि पत्रकारहरू नै अग्रमोर्चामा रहनुपर्नेछ ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासनले महासंघले देशभर एआई साक्षरता र डिजिटल दक्षता सम्बन्धी कार्यक्रम विस्तार गर्ने बताए । “हामीले अब एआईलाई पत्रकारहरूको दक्षता बढाउने औजारको रूपमा लिँदै प्रदेश र जिल्लास्तरमा नियमित तालिम सञ्चालन गर्ने तयारी गरेका छौं”, प्रियासनले भने ।

उनका अनुसार महासंघले एआई साक्षरतासँगै समाचार लेखन, तथ्यजाँच र सम्पादनमा डिजिटल उपकरणहरूको सही प्रयोगबारे पनि तालिम कार्यक्रम सञ्चालन गर्ने तयारी गरिरहेको छ । “एआईले सम्पादक र संवाददाताबीचको सहकार्यलाई नयाँ रूप दिन सक्छ तर त्यसका लागि नैतिकता र पारदर्शितामा कुनै सम्झौता गर्न हुँदैन”, उनले जोड दिए ।

उक्त अवसरमा प्रशिक्षक अजय शर्माले पत्रकारितामा एआईको प्रयोग, सम्भावना, जोखिम र भविष्यबारे विस्तृत धारणा व्यक्त गरे । उनले एआईलाई पत्रकारको प्रतिस्पर्धी नभई सहयोगी उपकरणका रूपमा बुझ्न आग्रह गरे ।

“एआई कुनै व्यक्ति होइन, यो एउटा उपकरण हो–जसको प्रभाव प्रयोगकर्ताको उद्देश्यमा निर्भर गर्छ । यदि पत्रकारले यसलाई सृजनात्मक, अनुसन्धानमुखी र तथ्यआधारित समाचार उत्पादनमा प्रयोग गरे भने, एआई पत्रकारिताको क्षितिज विस्तार गर्ने ऐतिहासिक माध्यम बन्न सक्छ”, शर्माले भने ।

उनका अनुसार एआईले पत्रकारिताको तीन आधारभूत क्षेत्र–समाचार संकलन, सम्पादन र वितरणमा नयाँ मोड ल्याइरहेको छ । “संकलनका तहमा एआईले डेटा–विश्लेषण, तथ्य–जाँच र ट्रेन्ड विश्लेषणमा सहयोग गर्न सक्छ भने सम्पादनका तहमा भाषिक शुद्धता, शीर्षक निर्माण र तथ्य–सत्यापनमा उपयोगी बन्न सक्छ”, शर्माले भने “वितरणमा एआईले दर्शकको रुचिअनुसार समाचार सामग्री समायोजन गर्न, व्यक्तिगत सिफारिस प्रणालीमार्फत समाचार पु¥याउन र समयमै सामग्री अपडेट गर्न मद्दत गर्छ ।”

शर्माले थपे, “तर यसको अर्थ यो होइन कि पत्रकारको भूमिका समाप्त हुन्छ । बरु पत्रकारको विवेक, संवेदना र नैतिक जिम्मेवारी अझ महत्वपूर्ण बन्नेछ । एआईले मानवीय संवेदना महसुस गर्न सक्दैन, त्यसैले समाचारमा मानवीय दृष्टिकोण र सामाजिक जिम्मेवारी पत्रकारकै हातमा रहन्छ ।”

उनले नेपालमा एआई प्रयोगका चुनौतीका रूपमा प्रविधिको पहुँच, भाषागत असमानता र नीति–संरचनाको कमीलाई औंल्याए । उनका अनुसार, नेपाली भाषामा एआई प्रणालीको सीमित विकासले स्थानीय समाचार मिडियालाई अझ सजग र सृजनशील बन्न प्रेरित गर्नुपर्छ ।

“हामीले प्रविधिलाई आफ्नै भाषामा अनुकूल बनाउन सकेनौं भने हामी सधैं अनुवादित युगमा रहन्छौं,” शर्माले भने । उनले पत्रकारहरूलाई एआई प्रयोगमा ‘डिजिटल नैतिकता’ र ‘डाटा जिम्मेवारी’ पालन गर्न आग्रह गरे । “एआईले जति शक्ति दिन्छ, त्यति नै जिम्मेवारी पनि थप्छ। कुनै पनि समाचार तयार गर्दा त्यसको स्रोत, उद्देश्य र प्रभावबारे सजग हुनुपर्छ,” उनले भने ।

उनका अनुसार एआईको विवेक भन्दा पत्रकारको विवेक ठूलो हुन्छ, त्यसैले ‘मानव नियन्त्रणमा रहेको एआई’ नै पत्रकारिताको सही रूप हो । शर्माले अभिमुखीकरण कार्यक्रमलाई पत्रकारहरूमा एआईप्रतिको बुझाइ, जिज्ञासा र उत्तरदायित्व जगाउने ऐतिहासिक पहलका रूपमा लिएका छन् ।

“दाङबाट सुरु भएको यो अभियानले नेपालभर पत्रकारिताको प्रविधि–साक्षरता अभिवृद्धि गर्नेछ,” उनले निष्कर्ष निकाले ।
उक्त अवसरमा प्रेस काउन्सिल नेपालका निवर्तमान सदस्य शरद अधिकारीले पत्रकारितामा एआईको प्रयोगसँगै नियमन र नीति निर्माणमा ढिलाइ गर्न नहुने धारणा राखे ।

“एआईले समाचार उत्पादनमा सहजता ल्याउँछ, तर स्रोतको विश्वसनीयता, तथ्यपरकता र सम्पादकीय उत्तरदायित्व सुनिश्चित गर्न नियमनकारी निकायहरूको तयारी जरुरी छ”, अधिकारीले भने ।

उनले एआईद्वारा सिर्जित सामग्रीको सत्यापन, श्रेय र जिम्मेवारीबारे स्पष्ट कानुनी प्रावधान नहुँदा दुरुपयोगको जोखिम बढ्ने बताए । “एआईले झुटा सामग्री फैलाउन सक्ने सम्भावना रहन्छ, त्यसैले पत्रकारहरूले ‘मानवीय विवेक’लाई सधैं अग्रता दिनुपर्छ”, उनले थपे ।

कार्यक्रमका अध्यक्ष सन्तोष सुवेदीले समापन मन्तव्य दिँदै दाङका पत्रकारहरू अब एआई प्रयोगमा अभ्यासतर्फ उन्मुख हुने विश्वास व्यक्त गरे।

ृमहासंघका उपाध्यक्ष ओपेन्द्र बस्नेतको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा अध्यक्ष सुवेदीले यस खालका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए । “यस कार्यक्रमले दाङका पत्रकारहरूमा एआईप्रति जिज्ञासा र चेतना दुवै बढाएको छ । अब हामीले यसलाई व्यवहारमा उतार्ने अभ्यास सुरु गर्नुपर्छ”, सुवेदीले भने ।

उनले महासंघले यस्ता ज्ञानमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाउँदै भने, “एआईले पत्रकारिताको व्यावसायिकता, निष्पक्षता र तीक्ष्णता बढाउने अवसर प्रदान गरेको छ ।” कार्यक्रमको सञ्चालन महासंघका सहसचिव प्रकाश चौधरीले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !