१९ मंसिर २०८२, शुक्रबार

नेपाल टी–२० विश्वकपमा प्रवेश : कतारमाथि रोमाञ्चक ५ रनको जित

प्रकाशित मिति :  14 October, 2025 12:17 am


दाङ । नेपालले कतारमाथि सनसनीपूर्ण ५ रनको जित निकाल्दै आगामी फेब्रुअरीमा भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने टी–२० विश्वकपमा प्रवेश गरेको छ । सुपर सिक्स चरणमा लगातार दोस्रो जित दर्ता गर्दै नेपालले विश्वकपको टिकट पक्का गरेको हो ।

१४८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको कतार १९.५ ओभरमा सबै विकेट गुमाएर १४२ रनमै समेटिँदा नेपाल ५ रनले विजयी भयो ।

एक समय १२ ओभरमा १ विकेटको क्षतिमा ९७ रन बनाएर सहज अवस्थामा पुगेको कतारले त्यसपछि लगातार विकेट गुमाउँदै खेल आफ्नो हातबाट फुत्कायो ।

कतारका लागि ओपनर इमाल लियानागेले ५६ रन र जुबेर अलीले ५२ रनको योगदान दिए तर अन्य ब्याटरहरूले अपेक्षित प्रदर्शन गर्न सकेनन् ।

नेपालको बलिङमा सन्दीप लामिछाने चम्किए-उनले ४ ओभरमा ५ विकेट लिए। नन्दन यादवले २ र दिपेन्द्र सिंह ऐरीले १ विकेट लिएर जित सुनिश्चित गरे।

यसअघि नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित २० ओभरमा प्रतिस्पर्धी १४७ रनको योगफल बनाएको थियो। सुपर सिक्सको पहिलो खेलमा यूएईलाई एक रनले हराएको नेपालले यस जितसँगै ६ अंक जोड्दै ओमानसँगै विश्वकपमा पुग्ने दोस्रो टोलीको रूपमा नाम लेखाएको छ।

यस जितसँगै नेपाल तेस्रो पटक टी–२० विश्वकप खेल्ने अवसर पाएको छ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाली टोली अहिले अपराजित यात्रा कायम राख्दै विश्वमञ्चतर्फ अघि बढेको छ।

नेपाल क्रिकेटका लागि यो ऐतिहासिक क्षण बनेको छ-जहाँ अनुशासित बलिङ, सुदृढ फिल्डिङ र निर्णायक घडीमा देखाइएको संयमले नेपाली क्रिकेटलाई पुनः विश्वकपको ढोका खोलेको छ।



प्रतिक्रिया दिनुहोस !