विद्यार्थीकाे पढाइ खर्च बढ्दै : भदौमा मात्रै ३२ अर्ब ७६ करोड विदेशिएको
दाङ । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि जाने विद्यार्थीमार्फत ठूलो मात्रामा रकम विदेशिएको पाइएको छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको दोस्रो महिनामा मात्रै विद्यार्थीहरूले ३२ अर्ब ७६ करोड रुपैयाँ विदेश लगेका छन्-गत वर्षको सोही अवधिको २८ अर्ब २० करोडभन्दा करिब १६ प्रतिशत बढी ।
विद्यार्थी अध्ययन खर्चसँगै भ्रमण व्यय पनि बढेको छ । भदौसम्म सेवा खाताअन्तर्गत भ्रमण व्यय ९.६ प्रतिशतले बढेर ४७ अर्ब ३१ करोड पुगेको छ तर भ्रमण आयको वृद्धि दर कम रहँदा सेवा क्षेत्रमा घाटा झन् बढेको छ । यस अवधिमा भ्रमण आय ११ अर्ब ५८ करोड मात्र रहँदा सेवा खाताको खुद आय ३१ अर्ब १६ करोड घाटामा पुगेको छ ।
अर्थविद्हरूका अनुसार, विदेश अध्ययनका लागि बढ्दो भुक्तानीले रेमिट्यान्सबाट आएको वैदेशिक मुद्रा पुनः बाहिरिने चक्र तीव्र बनाएको छ । उनीहरूकाे सुझाव छ-विदेशमा निर्भर उच्च शिक्षालाई स्वदेशमै प्रतिस्पर्धी बनाउने नीति नअपनाएसम्म सेवा क्षेत्रको घाटा घट्ने सम्भावना कम छ ।








