छिल्लीकोटमा विश्वकै ठूलो कलस स्थापना गरिने
छिल्लीकोट हरित आस्था र आध्यात्मिक गौरवको केन्द्रमा रूपान्तरण हुने अपेक्षा
दाङ । पहाडको फेददेखि टाकुरासम्म फैलिएको हरियो वन, घामसँगै चम्किने भ्यूटावर र तलबाट देखिने दाङको सुन्दर फाँट–यही दृश्य हो छिल्लीकोटको । अहिले यही स्थान पुनः चर्चामा आएको छ । कारण हो—यहाँ विश्वकै ठूलो कलस स्थापना गर्ने तयारी ।
तुलसीपुर उपमहानगरपालिका–१९ स्थित छिल्लीकोट दाङको पुरानो धार्मिक, सांस्कृतिक र ऐतिहासिक प्रतीक हो । छिल्लीकोटलाई धार्मिक आस्थाको केन्द्र बनाउन स्थानीय युवाहरु कम्मर कसेर लागेका छन् । कलसलाई छिल्लीकोटको नयाँ पहिचान दिन दिनरात नभनी जुटिरहेका युवाहरु भन्छन्, “छिल्लीकोटलाई धार्मिक र पर्यावरणीय केन्द्र बनाउने हाम्रो प्रयासले सार्थकता पाउँदै छ ।”

भ्यूटावर परिसरमा बन्न लागेको उक्त कलस सामान्य धार्मिक प्रतीक मात्र नभई, एक विश्वस्तरीय आस्थाको केन्द्रका रूपमा परिकल्पना गरिएको अभियानकर्मी गोकर्ण पौडेलले जानकारी दिए । कलसमा गङ्गा, यमुना, गङ्गोत्री, यमुनोत्री, सरस्वती, कावेरी, दामोदरकुण्ड, गोसाइकुण्ड,मानसरोबर,गणेश गंगालगायत एक हजार ८ पवित्र तीर्थस्थलहरूको जल भण्डारण गरिने योजना रहेको अभियानकर्मी सागर रेग्मीले जानकारी दिए । “कलसमा विश्वका एक हजार ८ पवित्र तीर्थस्थलहरूको जल भण्डारण गर्ने परिकल्पना नै यसको भव्यता र अद्वितीयताको प्रतीक हो”, रेग्मीले भने ।
कलसको डिजाइन आध्यात्मिक सौन्दर्य र धार्मिक प्रतीकत्वलाई जोडेर तयार पारिने भन्दै रेग्मीले कलसको शिखरमा नेपाली कला झल्किने ढाँचा हुने र यसको आधारमा छिल्लीकोटको धार्मिक र ऐतिहासिकताको स्वरूप समेटिने जानकारी दिए ।
तुलसीपुर उपमहानगरपालिकाले यस परियोजनालाई ‘धार्मिक पर्यटन प्रवद्र्धनको मोडेल प्रोजेक्ट’ का रूपमा अघि बढाएको भन्दै अभियानकर्ता पौडेलले यो परियोजनाले छिल्लीकोटलाई विश्वका तीर्थयात्रा नक्सामा उजिल्याउने दावी गरे । “गंगा–यमुनादेखि गोसाइकुण्डसम्मका एक हजार ८ तीर्थस्थलको जल एकै कलसमा अर्पण हुनु नेपालकै गौरवको विषय हो”, पौडेलले भने ।
अभियानका अगुवा रेग्मी र पौडेलका अनुसार, यो कलस पञ्चधातु, पञ्चपल्लव, पञ्चरत्न र सर्वोषधि मिसाएर निर्माण गरिने छ । उनीहरूका शब्दमा, “यो केवल धातुको संरचना होइन, नेपालको आस्था, आन्तरिक एकता र आध्यात्मिक गौरवको प्रतीक हो ।” कलसलाई सूर्यकिरणमा सुनझैँ चम्किने र चन्द्रमामा झल्किने बनाउने परिकल्पना गरिएको छ–जसले रातमा पनि छिल्लीकोटलाई उज्यालो धार्मिक प्रतीक बनाउनेछ ।
कलससँगै छिल्लीकोटलाई पर्यावरण्ीय रुपमा विकास गर्न थालेको अभियानकर्ता पौडेलले बताए । उनका अनुसार एक हजार ८ बरपिपल रोप्ने अभियान सुरु भएको छ, जसले यस स्थानलाई हरित आस्थाको मन्दिर बनाइरहेको छ । फूलको बगैँचा र सुगन्धित वृक्षहरूले अहिले नै छिल्लीकोटलाई सुगन्धित तीर्थस्थलको स्वरूप दिने अपेक्षा गरिएको छ । स्थानीय युवाहरूको हातमा रहेको “हरित छिल्लीकोट आन्दोलन” अब केवल वृक्षारोपण होइन, प्रकृति र आस्थाको सहअस्तित्वको प्रतीक बनेको छ ।
१६ औँ शताब्दीमा राजा मेघनाथ शाहले शासन गरेको यो क्षेत्र इतिहासको जीवित सन्देश हो । उनका दरबारका भग्नावशेष, ढुंगाका पर्खाल र पुराना सीढीहरूले त्यो गौरवशाली युगको स्मरण गराउँछन् । स्थानीय परवीर पुन भन्छन्, “छिल्लीकोटमा हामी इतिहास पनि देख्छौं, आस्था पनि महसुस गर्छौं र भविष्यको सम्भावना पनि देख्छौं ।”
छिल्लीकोटमा हाल भ्यूटावर निर्माणपछि आन्तरिक पर्यटकको आगमन बढ्दै गएको छ । दैनिक रूपमा यहाँ सूर्योदय हेर्न, पिकनिक मनाउन र प्रकृतिको आनन्द लिन सयौं आगन्तुक आइरहेका हुन्छन् । अब यो कलस स्थापना भएपछि धार्मिक तथा अन्तर्राष्ट्रिय पर्यटनका लागि यो स्थान नयाँ गन्तव्य बन्ने निश्चित जस्तै देखिन्छ ।
यो कार्यले स्थानीय समुदाय पनि उत्साहित छन् । “छिल्लीकोट केवल हाम्रो संस्कृतिको प्रतीक होइन, अब यो विश्वका तीर्थहरूको एक प्रतीक बन्नेछ”, पुनले भने, “हामी यसलाई हाम्रो गौरवको परियोजना मान्छौं ।”
छिल्लीकोट पुग्ने बाटो पनि अहिले नयाँ रुप लिँदै छ । बेलझुण्डी र सङ्क्राम ब्यारेक हुँदै आउने दुई मार्ग कालोपत्र हुँदै छन् । दश किलोमिटरको पैदल यात्रापछि जब यात्रु भ्यूटावरमा पुग्छन्, उनीहरूको अगाडि सिस्ने, धौलागिरि र दाङका फाँटहरू एकैसाथ झल्किन्छन्–मन्थर हावामा बज्ने पवित्र घण्टीको आवाजले त्यो दृश्यलाई झन् आध्यात्मिक बनाइदिन्छ । साथै दाङ उपत्यकालाई बाह्रै महिना सिचाई गर्दै आएको गणेश गङ्गासमेत अवलोकन गर्न सकिन्छ ।
भ्यूटावरबाट देखिने बिहानको सुनौलो सूर्य र साँझको रातो आभा यहाँको दृश्यलाई स्वर्गीय बनाउँछ । यही ठाउँमा कालिका–मालिका मन्दिर, जिपलाइन र नयाँ पार्क क्षेत्रले छिल्लीकोटलाई धार्मिक, प्राकृतिक र साहसिक पर्यटनको संगमस्थल बनाइरहेका छन् ।
छिल्लीकोटमा केबलकार निर्माणको सम्भाव्यता अध्ययन भइसकेको छ भने प्याराग्लाइडिङको सफल परीक्षणले यो क्षेत्रलाई भविष्यमा अन्तर्राष्ट्रिय साहसिक पर्यटन केन्द्रमा रूपान्तरण गर्ने संकेत दिएको छ ।
नेपालका तीन प्रसिद्ध ‘गिरि’ मध्ये भारतको पूर्णागिरि, काठमाडौँको चन्द्रागिरि र दाङको मल्लागिरिले अहिले छिल्लीकोटलाई आफ्नो धार्मिक केन्द्र बनाएको छ । यही मल्लागिरिको छेउमै बन्ने विश्वकै ठूलो कलसले यस ठाउँलाई नेपालकै काशी बनाउने स्थानीयको विश्वास छ ।
अभियानका अगुवा रेग्मी भन्छन्, “हाम्रो सपना छिल्लीकोटलाई विश्वभरका तीर्थयात्रीका लागि गन्तव्य बनाउने हो । जब एक हजार आठ तीर्थको जल एउटै कलसमा मिल्छ, त्यो क्षण छिल्लीकोट केवल पहाड होइन, आस्थाको समुद्र हुनेछ ।”








