नेपालको आत्मविश्वासी विजय यात्रा : ओमानमाथि ३८ रनको ऐतिहासिक जित
दाङ । नेपालले एशिया तथा इस्ट एसिया–प्यासिफिक छनोटमा पुनः आफ्नो दबदबा कायम राखेको छ। ओमानलाई ३८ रनले पराजित गर्दै नेपालले अपराजित यात्रालाई निरन्तरता दिएको छ र अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ। यो जितसँगै ट्रफी नजिक पुग्दै नेपालको मनोबल अझै उच्च बनेको छ।
विश्वकपमा स्थान सुनिश्चित गरिसकेको नेपालले यो जितसँगै आफ्नो मनोबल अझ उचो बनाएको छ । टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल भुर्तेलको ६९ रनको उत्कृष्ट पारीमा १ सय ५१ रनको प्रतिस्पर्धी योगफल बनायो । त्यसपछि बलिङमा गुलशन झाले ३ विकेट लिएर ओमानको ब्याटिङ लाइनअप ध्वस्त पारे । ओमान २० ओभरमा ९ विकेट गुमाउँदै ११३ रनमा समेटियो ।
ओपनर कुशल भुर्तेलले ५१ बलमा ७ चौका र १ छक्का सहित ६९ रन बनाए । उनको संयमित र योजनाबद्ध ब्याटिङले नेपाललाई स्थिर सुरुवात दिलायो ।
ओपनर जोडीले ६१ रनको साझेदारी गरेपछि आसिफ शेख २४ रनमा आउट भए तर बीचका खेलाडीहरू कुशल मल्ल (७), दीपेन्द्र ऐरी (२) र कप्तान रोहित पौडेल (१) सस्तोमा आउट हुँदा दबाब आएको थियो ।
तर कुशल र आदिल आलमबीच ४० रनको साझेदारीले स्कोर स्थिर बनायो। अन्त्यमा गुलशन झाले १० बलमा १८ रन जोड्दै अन्तिम ओभरमा रन बृद्धि गरे ।
१ सय ५२ रनको लक्ष्य पछ्याएको ओमान २७ रनमै ३ विकेट गुमाउँदै धरासायी भयो। कप्तान जतिन्द्र सिंह (१४) सोमपाल कामीको बलमा क्याच आउट भए भने हमाद मिर्जा (४) र आमिर कालिम (१) पनि लामो टिक्न सकेनन् । आर्यान बिष्ट (११) सन्दीप लामिछानेको स्पिनमा फसे ।
गुलशन झाले १४औं ओभरमा लगातार दुई विकेट लिएर खेल निर्णायक रूपमा नेपालतर्फ मोडे । विनायक शुक्ला (३२) र सुफयान मोहम्मद (९) बीचको साझेदारीले केही आशा जगाए पनि अन्ततः सम्पूर्ण टिम ११३ रनमै समेटियो ।
गुलशन झाले ४ ओभरमा ३१ रन दिएर ३ विकेट लिए । सोमपाल कामी र नन्दन यादवले २–२ विकेट लिए । सन्दीप लामिछानेले पनि १ विकेट झारे । ओमानका बलर नदिम खानले शानदार प्रदर्शन गर्दै ४ विकेट लिए पनि कुशल भुर्तेल र नेपालका ओपनरहरूको बलले खेलको दिशा तोकेको थियो ।
यो जितसँगै नेपालले सुपर सिक्समा लगातार चौथो जित दर्ता गर्यो र ८ अंकसहित शीर्षस्थानमा पुगेको छ । ओमान ६ अंकमा सीमित रहँदै दोस्रो स्थानमा झर्यो। दुवै टिम फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत–श्रीलंकामा हुने टी–२० विश्वकपका लागि छनोट भइसकेका छन् । नेपाल अब अन्तिम खेलमा सामोआसँग भिड्नेछ-जहाँ जितले ट्रफीमा नेपालको हात झन् नजिक ल्याउनेछ।
यो जित केवल अंकतालिकाको होइन, आत्मविश्वासको पनि जित हो । नेपाली टोलीले ओमान जस्तो अनुभवी टिमलाई नियन्त्रणमा राख्दै टी–२० क्रिकेटमा आफ्नो नयाँ उचाइ प्रदर्शन गरेको छ ।
कुशल भुर्तेलको स्थिरता, गुलशनको तीखो बलिङ र टिमको समन्वयले नेपाललाई एशिया क्षेत्रको उदाउँदै गरेको शक्तिशाली टिमको रूपमा उभ्याएको छ। अब सामोआविरुद्धको अन्तिम खेल नेपालको लागि ‘औपचारिकता’ भन्दा बढी ट्रफीको साँचो स्वाद लिनुपर्ने अवसर हो ।








