च्याम्पियन बन्ने लक्ष्यसहित नेपाल आज सामोआसँग भिड्दै
काठमाडाैँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट–एसिया प्यासिफिक छनोटको सुपर सिक्स चरणमा नेपाल आज (शुक्रबार) आफ्नो अन्तिम खेलमा सामोआसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजे सुरु हुनेछ ।
सुपर सिक्सको शीर्ष स्थानमा रहेको नेपालका लागि आजको खेल जित्नु प्रतियोगिताको उपाधि जित्ने सुनौलो अवसर बनेको छ । नेपालले सुपर सिक्सका चारै खेल जित्दै ८ अंकसहित पहिलो स्थान सुनिश्चित गरेको छ। यसअघि नेपालले यूएई, कतार र ओमानलाई पराजित गरेको थियो ।
त्यसबेला सामोआ भने कुनै पनि खेलमा जित निकाल्न नसकेर तालिकाको पुछारमा छ। सामोआ यसअघि नै विश्वकप छनोटको दौडबाट बाहिरिसकेको छ ।
नेपालले यस प्रतियोगिताको शीर्ष तीनमा पर्न सफल हुँदै सन् २०२६ मा भारत र श्रीलङ्कामा हुने आईसीसी टी–२० विश्वकपका लागि आफ्नो स्थान यसअघि नै सुरक्षित गरिसकेको छ ।
ओमान र यूएई पनि यसै छनोटमार्फत विश्वकपमा स्थान बनाइसकेका छन् । आजको खेलमा नेपालले जित हासिल गरे सुपर सिक्स चरणको अपराजित च्याम्पियन बन्नेछ ।








