सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएर नेपाल बलियो स्थितिमा
काठमाडाैँ । आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक छनोटको सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामोआलाई २१२ रनको विशाल लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २११ रनको बलियो योगफल तयार पार्यो ।
सुरुवातमै कुशल भुर्तेल र आसिफ शेखले आक्रामक ब्याटिङ गर्दै बलियो आधार तयार गरे । भुर्तेल १७ रनमा आउट भए पनि आसिफले लय कायम राख्दै ४१ बलमा ६९ रनको प्रभावशाली अर्धशतक प्रहार गरे । त्यसपछि दीपेन्द्रसिंह ऐरीले पनि ३३ बलमा ५३ रन जोडे र नेपालको स्कोरलाई नयाँ उचाइमा पुर्याए ।
मध्यमक्रममा आरिफ शेख ९ रनमा आउट भए भने कप्तान रोहित पौडेल र लोकेश बमले अन्तिम ओभरहरूमा धुवाँधार ब्याटिङ गरे । पौडेलले १२ बलमा २१ रन जोड्दा बमले मात्र १२ बलमा ३९ रन ठोकेर नेपाललाई २११ रनमा पुर्याए ।
नेपालका समर्थकहरू उत्साहका साथ टिमलाई समर्थन गरिरहेका छन्, र आजको खेल जितेमा नेपालले यो छनोट प्रतियोगिता अपराजित च्याम्पियनका रूपमा समाप्त गर्नेछ । यसअघि नै नेपाल, ओमान र युएईले सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपमा स्थान सुनिश्चित गरिसकेका छन् ।
अब नेपालका बलरहरू सामोआलाई २१२ रनमै रोक्दै आफ्नो अपराजित यात्रा ट्रफीमा परिणत गर्ने लक्ष्यसहित मैदानमा ओर्लिएका छन् ।








