नेपालको ऐतिहासिक विजय : सामोआलाई हराउँदै टी–२० विश्वकप छनोटको उपाधि हातमा
काठमाडाैँ । नेपाली क्रिकेट टिमले फेरि एकपटक आफ्नो क्षमता र आत्मविश्वासले इतिहास रचेको छ। ओमानमा सम्पन्न आइसिसी टी–२० विश्वकप एसिया–ईस्ट एसिया प्यासिफिक छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले शतप्रतिशत जितसहित प्रतियोगिताको उपाधि जितेको छ।
नेपालले यस जितसँगै न केवल अपराजित अभियान समापन गर्यो, बरु सन् २०२६ मा भारत र श्रीलंकामा हुने टी–२० विश्वकपका लागि शीर्ष स्थानमा रहेर स्थान पनि सुनिश्चित गर्यो।
नेपालले दिएको २१२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा सामोआ २० ओभरमा ७ विकेट गुमाएर ८७ रनमै सीमित रह्यो। सामोआका सेन सोलियाले सर्वाधिक ४० रन जोडे पनि बाँकी ब्याट्सम्यान नेपाली बलिङ अगाडि टिक्न सकेनन्।
बलिङतर्फ नेपालका ललित राजवंशीले शानदार प्रदर्शन गर्दै ३ विकेट लिए भने करण केसी, सन्दीप लामिछाने र कप्तान रोहित पौडेलले एक–एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २११ रनको बलियो योगफल तयार पारेको थियो। ओपनर आसिफ शेखले ४१ बलमा ६९ रनको शानदार पारी खेले भने दीपेन्द्रसिंह ऐरीले ३३ बलमा ५३ रन प्रहार गर्दै अर्धशतक पूरा गरे।
कुशल भुर्तेलले १७ र आरिफ शेखले ९ रन जोडे। अन्त्यतिर कप्तान रोहित पौडेल १२ बलमा २१ रन र लोकेश बम १२ बलमा ३९ रन अविजित रहँदै नेपालको पारीलाई उच्च स्तरमा पुर्याए।
यस जितले नेपाललाई अपराजित च्याम्पियनको रूपमा स्थापित गरेको छ। टिमको सामूहिक खेल, सन्तुलित ब्याटिङ र अनुशासित बलिङले नेपाल क्रिकेटलाई नयाँ उचाइमा पुर्याएको छ।
ओमान दोस्रो र युएई तेस्रो स्थानमा रहँदै विश्वकपमा पुगिसकेका छन्। तर, यो प्रतियोगिताको सबैभन्दा चम्किलो कथा भने नेपालकै रह्यो-जसले जित मात्र होइन, राष्ट्रिय गौरव र आत्मविश्वास दुवै नयाँ उचाइमा पुर्यायो।








