१९ मंसिर २०८२, शुक्रबार
उच्च मनाेबलका साथ मैदान भित्रिदै नेपाली टिम

क्रिकेट विश्वकप लिग–२ : नयाँ संयोजनसहित आज युएईमा मैदान उत्रिँदै नेपाली टीम

प्रकाशित मिति :  26 October, 2025 6:31 am


काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ को नयाँ चरण युएईमा आइतबारदेखि सुरु हुँदैछ, र नेपालले उद्घाटन खेलमै शक्तिशाली अमेरिका विरुद्ध प्रतिस्पर्धा गर्दैछ । यो शृङ्खला नेपाली टिमका लागि केवल अंक जोड्ने होइन, टिमको नयाँ संयोजन परिक्षण गर्ने अवसर पनि बनेको छ ।

कप्तान रोहित पौडेलको नेतृत्वमा युएई पुगेको नेपाली टोलीमा यस पटक केही नयाँ अनुहार देखिएका छन् । क्रिकेट संघ नेपाल (क्यान) ले हङकङ सिक्सेसमा खेल्न सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई पठाएपछि, उनीहरूको स्थानमा भीम सार्की, शाहब आलम र अनिल साहलाई समावेश गरिएको छ ।

टिम संयोजनमा आएको यो परिवर्तनले युवा खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो प्रभाव देखाउने मौका दिएको छ । लिग–२ अन्तर्गतको यो यूएई शृङ्खला कात्तिक ९ देखि १९ गतेसम्म चल्नेछ। नेपालले अमेरिका र युएईसँग दुई–दुई खेल खेल्ने तालिका तय भएको छ ।

पहिलो खेल आइतबार बिहान ११ः१५ बजे अमेरिकासँग हुनेछ भने दोस्रो खेल कार्तिक १३ गते युएई विरुद्ध हुनेछ । त्यसपछि कार्तिक १५ गते फेरि अमेरिकासँग र अन्तिम खेल कार्तिक १९ गते बुधबार युएईसँग हुने तय भएको छ।

नेपालले हालसम्म लिग–२ मा १२ खेलबाट १६ अंक जोडेको छ। युएईले समान खेलबाट मात्र ६ अंक हासिल गरेको छ भने अमेरिका २० खेलबाट २८ अंकसहित दोस्रो स्थानमा रहेको छ । यस हिसाबले नेपालका लागि यो शृङ्खला तालिकामा माथि उक्लिने निर्णायक मौका हो ।

नेपालका कप्तान रोहित पौडेलले टिमका युवा सदस्यहरू आत्मविश्वासमा रहेकाे भन्दै युएईको मैदानमा राम्रो प्रदर्शन गर्न तत्पर रहेकाे जानकारी दिएका छन्।

अमेरिकासँगको पहिलो खेल नै निर्णायक साबित हुने अपेक्षा गरिएको उनले गरेका छन् । अमेरिकाले पछिल्ला खेलहरूमा लगातार जित हासिल गर्दै आएको छ।

क्रिकेट विश्लेषकहरू नेपालले बलिङमा सन्तुलन कायम राख्दै ब्याटिङमा स्थायित्व देखाउन सकेमा यो शृङ्खला नेपालका लागि विश्वकप लिग–२ को पुनरागमनको टर्निङ पोइन्ट बन्न सक्ने बताएका छन् ।

युएईमा सुरु भएको यो शृङ्खला केवल प्रतियोगिता होइन-नेपाली क्रिकेटका नयाँ अनुहारहरूको परीक्षा पनि हो । नेपालले यदि अमेरिकाजस्तो बलियो टिमविरुद्ध जित निकाल्न सक्यो भने, लिग–२ को तालिकामा मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटको मनोबलमा पनि ठूला अंक थप्नेछ।



प्रतिक्रिया दिनुहोस !