साम्बाको डबल स्ट्राइकले चम्कियो नेपाल : भारतकाे भूमिमा ऐतिहासिक जित
दाङ । कप्तान सावित्रा भण्डारी ‘साम्बा’को शानदार प्रदर्शनको बलमा नेपालले भारतलाई उसकै घरेलु मैदानमा पराजित गरेको छ ।
भारतको शिलङस्थित जवाहरलाल नेहरू रंगशालामा आइतबार सम्पन्न ट्राईनेसन्स महिला अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा नेपालले भारतलाई २–१ ले हराउँदै ऐतिहासिक जित हात पारेको हो ।
खेलको सुरुवाती क्षणदेखि नै आक्रामक रणनीति अपनाएको नेपाली टोलीले दोस्रो मिनेटमै गोल गर्दै भारतलाई दबाबमा पार्यो । साम्बाले पहिलो अवसरमै गोल गर्दै टोलीलाई अग्रता दिलाइन् । दोस्रो हाफमा पनि उनले आफ्नो उत्कृष्ट फर्म जारी राख्दै ६३औं मिनेटमा दोस्रो गोल गरिन् ।
भारतले ८१औं मिनेटमा एक गोल फर्काए पनि बाँकी समयभर नेपालले बलियो रक्षात्मक खेल देखायो । कप्तान साम्बाको दुबै गोलले नेपालको जित सुनिश्चित बनायो ।
नेपालले भारतविरुद्धको पछिल्ला भेटहरूमा कठिन प्रतिस्पर्धा खेलेको भए पनि यसपटकको प्रदर्शन उल्लेखनीय रह्यो । मैदानमा अनुशासन, समन्वय र आक्रामक तालमेलले नेपाललाई विजय दिलाएको हो ।
यो जितले नेपालको महिला फुटबलको मनोबल उच्च बनाएको छ । प्रशिक्षक गोगन श्रेष्ठले खेलपछि भने, “छोरीहरूले योजनाबद्ध ढङ्गले खेलिन्, आजको जित मेहनतको फल हो।”
शिलङमा नेपाली खेलाडीहरूको प्रदर्शनले दर्शक र विज्ञ दुवैको ध्यान खिचेको छ । सावित्रा साम्बाको यो ‘डबल स्ट्राइक’ केवल गोल मात्र होइन, नेपाली महिला फुटबलको आत्मविश्वास र सम्भावनाको प्रतीक बनेको छ ।








