राखभित्रको आशा : जब तुलसीपुरमा एमाले महासचिव पोखरेल अभिभावकका रुपमा पुगे
दाङ । भदौ २३ र २४ को जेन–जी आन्दोलनले तुलसीपुरलाई गहिरो घाउ दिएको थियो । आगजनी र ताेडफाेडका घाउ बाेकेर सरकारी कार्यालयका स्वरुप बदलिएका छैनन् । क्षतविक्षत संरचना पूनर्निर्माणकाे पर्खाइमा रहिरहँदा हिजाे साँझ नेकपा (एमाले) का महासचिव शंकर पोखरेल अवलाेकन गर्न पुगे-नेताको हैसियतमा होइन, अभिभावकझैँ संवेदना बोकेर ।
आन्दाेलनपछि पहिलोपटक गृहजिल्ला फर्किएका पोखरेलले तुलसीपुरका क्षतिग्रस्त तुलसीपुर उपमहानगरको भवन, आन्तरिक राजस्व कार्यालय, उच्च अदालत, एमाले पार्टी कार्यालयमात्र हाेइन कोमल रिसोर्ट र नागरिकका घरहरूकाे क्षतिबारे चासाे राखे । फेरि भदौ २३ र २४ दाेहाेरिन नदिने राजनीतिक प्रतिबद्धता राखे ।
आन्दाेलनका क्रममा क्षतविक्षत संरचनाकै आडमा उभिएर खरानीबाट उठ्ने प्रतिज्ञा सुनाए । उनका पाइला केवल अवलोकनका लागि भन्दा बढी एउटा अभिभावकको भूमिकाको पुनरागमन झल्कायो ।
बजारदेखि ५ किलाेमिटर पूर्वमा रहेकाे क्षतविक्षत आफ्नाे घर पुग्नुपूर्व फरक आस्थाका नेताहरूकाे दैलाेमा पुगेर क्षतिविवरण लिँदै पीडामा मल्हम लगाउने काम गरे । अभिभावकीय भूमिका महसुस गराए ।
आन्दाेलनकाे निसानामा परेकाे नेपाली काँग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीको घरमा पुगेर वर्तमान राजनीतिक अस्थिरता चिर्न प्रमुख दलका बीचमा सहकार्यकाे आवश्यकता महसुस गराउँदै महासचिव पाेखरेलले यसखालका घटना फेरि दाेहाेरिन नदिने प्रतिज्ञासमेत व्यक्त गरे ।
जेनजी आन्दाेलनमा आफू र आफ्नाे घर मुख्य निसानामा परेकाे बताउँदै गिरीले भावुक स्वरमा भने, “षड्यन्त्रपूर्वक तरिकाले मेरो घरमा क्षति पुर्याइयो, यो केवल व्यक्तिगत नभई राजनीतिक असहिष्णुताको परिणाम हो । राजनीतिक प्रतिस्पर्धा सधैँ रहन्छ तर यस्तो विनाश देशका लागि घातक छ।”

पोखरेलले शान्त तर दृढ स्वरमा जवाफ दिए, “देशलाई सही दिशामा लैजान सबैको सहकार्य जरुरी छ। अब यस्ता घटना दोहोरिनु हुँदैन।” यस क्षणमा काँग्रेस र एमालेका दुई अगुवा नेताबीचको संवाद राजनीतिभन्दा माथिको संवेदना बनेको देखिन्थ्यो।
त्यससँगै पोखरेल पूर्वमुख्यमन्त्री एवम् काँग्रेस नेता डिल्ली चौधरीको घरमा पुगेका थिए । चौधरीले क्षतिग्रस्त घर देखाउँदै भने, “यहाँ केवल तोडफोड मात्र भएन, आगजनी र चोरी पनि भयो । जलेर घरमा क्षति भयो तर सहनशीलताको संस्कृतिलाई पनि आगोले छोयो ।” पोखरेलले धैर्यपूर्वक सबै कुरा सुने र आश्वासन दिए, “राजनीतिले घृणा होइन, उपचार दिनुपर्छ । हामी त्यसैको अभ्यास गर्छौं ।”

तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले प्रशासनिक भवनको जर्जर अवस्था देखाउँदै गुनासो गरे, “अण्डरग्राउण्ड पार्किङमा राखिएका गाडी र ग्याँस सिलिण्डर विस्फोट गराएर भवन नै जीर्ण बनाइयो । प्रशासनबाट सहयोग नपाउँदा नगरले आफैलाई असहाय महसुस गर्यो ।”
महासचिव पोखरेलले त्यस गुनासोलाई ध्यानपूर्वक सुने। उनका अनुहारमा राजनीतिज्ञभन्दा बढी अभिभावकत्व झल्किन्थ्यो । उनले भने, “सरकार, दल र जनता सबैले जिम्मेवारी बुझ्नुपर्छ । आन्दोलनको आवेगले राज्यलाई पछाडि धकेल्यो, अब सहकार्य र क्षमाभावले मात्र हामी अघि बढ्न सक्छौं ।”
पोखरेलले निरीक्षण गरेका प्रत्येक ठाउँ उनको अभिव्यक्तिमा एउटै भाव रह्यो, “राज्यले पनि, जिम्मेवारी र आशा नजलोस् ।”
तुलसीपुरले राजनीतिभन्दा माथिको सन्देश सुनेको अनुभव गर्यो-एक नेताले सहकर्मी राजनीतिक दलका नेताकाे घरमा पुगेर हात मिलाउँदा, घाइते संरचनासँग संवेदना बाँड्दा र मुलुकलाई एकताको सूत्रमा बाँध्ने प्रतिज्ञा गर्दा ।
दाङका क्षतिग्रस्त संरचनाहरू अझै पुनर्निर्माणको प्रतीक्षामा छन् तर जनभावनाको पुनर्निर्माण सुरु भइसकेको छ । सम्भवत: यही पोखरेलको यात्राले दिएको सबैभन्दा ठूलो सन्देश हो-संवेदना र सहकार्यको बाटोमै मुलुकको अस्मिता र लोकतन्त्रको रक्षा सम्भव छ।








