१९ मंसिर २०८२, शुक्रबार

रुपन्देही आइपुग्याे एनपीएल ट्रफी

प्रकाशित मिति :  1 November, 2025 4:12 pm


दाङ । सिद्धार्थ बैंक नेपाल प्रिमियम लिग (एनपीएल) को चम्किलो ट्रफी शनिबार ऐतिहासिक रुपन्देहीमा विशेष आतिथ्यसहित पुर्‍याइयो ।

देशभरका क्रिकेटप्रेमीको उत्साह र गौरवको प्रतीक बनेको यो ट्रफी लुम्बिनीको धरोहरसँग जोडिँदै ‘ट्रफी टुर’को माध्यमबाट जनस्तरसम्म पुर्‍याइएको हो ।

शनिबार बिहान काठमाडौँबाट बाकसमा ल्याइएको एनपीएल ट्रफी बुद्ध एयरको विमानमार्फत भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरियो ।

विमानस्थलमा झण्डै समारोहकै माहोल थियो-नेपाल प्रहरीको ब्यान्डको ताल, स्थानीय युवाहरूको बाजागाजा र क्रिकेटप्रेमीहरूको उल्लासपूर्ण उपस्थितिले वातावरण उत्सवमय बनेको थियो ।

ट्रफीलाई एनपीएल टिम लुम्बिनी लायन्स का मालिक ईश्वर जीसी र रुपन्देही क्रिकेट संघका अध्यक्ष हरिबहादुर थापाले संयुक्त रूपमा ग्रहण गरे ।

त्यसपछि ट्रफीलाई बुद्ध जन्मस्थल लुम्बिनीमा लगेर सार्वजनिक प्रदर्शन गरियो । लुम्बिनीमा पर्यटक र स्थानीय बासिन्दाले ट्रफीसँग तस्बिर खिच्दै नेपाल क्रिकेटको गौरवको क्षण सम्झिए ।

त्यसपछि ट्रफी भैरहवास्थित सिद्धार्थ रंगशालामा स्वागतसहित प्रदर्शन गरियो । यात्रा त्यत्तिमै रोकिएन—ट्रफीलाई बेलहिया नाका हुँदै तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशाला पुर्‍याइयो, जहाँ लुम्बिनी लायन्सको घरेलु मैदान रहेको छ । त्यसपछि बुटवल उपमहानगरका पुरातात्विक स्थलहरूमा ट्रफीको प्रदर्शन गरियो, जसले खेल र संस्कृति दुवैको संगम झल्कायो ।

ट्रफी टुरको अन्तिम गन्तव्य सिद्धबाबा धाम रहनेछ, जहाँ रुपन्देही–पाल्पा सिमानाको पवित्र स्थलमा लगेर टुरको प्रतीकात्मक समापन गरिनेछ । साँझ मणिग्रामस्थित विश्राम वाटिका होटलमा आयोजना गरिएको औपचारिक कार्यक्रम र रात्री भोजले दिवसको उत्सव पूर्णता पाउने जनाइएकाे छ ।

लुम्बिनी लायन्सका मेन्टर शक्ति गौचनका अनुसार, यस ट्रफी टुरको उद्देश्य स्थानीय समुदायमा क्रिकेटप्रतिको लगाव र गौरव बढाउने रहेको छ। उनले भने, “यो ट्रफी केवल प्रतियोगिताको प्रतीक होइन, यो हाम्रो क्षेत्रको सम्मान, खेलप्रेम र एकताको प्रतिनिधित्व हो।”



प्रतिक्रिया दिनुहोस !