विश्वकप लिग–२ : युएईविरुद्ध अन्तिम खेलमा नेपाल ब्याटिङ गर्दै
काठमाडाैँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो । यसअघि शृङ्खलाका तीनै खेलमा पराजित भएको नेपाल आज जित निकाल्दै श्रृङ्खला सम्मानजनक रूपमा टुङ्ग्याउने लक्ष्यका साथ मैदानमा उत्रिएको छ।
नेपालले शृङ्खलाको पहिलो खेलमा अमेरिकासँग १०६ रनले, दोस्रो खेलमा युएईसँग पाँच विकेटले, र तेस्रो खेलमा पुनः अमेरिकासँग चार विकेटले पराजय व्यहोरेको थियो। लगातार हारपछि टोलीमाथि प्रदर्शन सुधार्ने दबाब रहेको छ।
समग्र अंकतालिकामा हेर्दा, नेपालले हालसम्म खेलेका १९ खेलमध्ये १२ मा हार र पाँचमा जित हात पारेको छ। दुई खेल भने विना नतिजा टुङ्गिएका थिए। नेपाल हाल १२ अङ्कसहित सातौँ स्थानमा रहेको छ।
यता, घरेलु टोली युएईले पनि १९ खेलमा १५ हार र चार जितसहित आठ अङ्क मात्र जोड्न सकेको छ र लिग तालिकाको अन्तिम स्थानमा रहेको छ।
आजको खेल नेपालका लागि आत्मविश्वास फर्काउने अवसरका रूपमा हेरिएको छ। हालको परिस्थितिमा जितले नतिजा तालिकामा ठूलो प्रभाव नपारे पनि टोलीको मनोबल पुनःस्थापित गर्ने अपेक्षा गरिएको छ।








