१९ मंसिर २०८२, शुक्रबार

भारतलाई पराजित गर्दै नेपालले हङकङ सिक्सेसमा पहिलो जित हात पार्‍यो

प्रकाशित मिति :  8 November, 2025 2:49 pm


काठमाडाैँ । हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपालले अन्ततः आफ्नो पहिलो जित दर्ता गरेको छ । शनिबार भएको बाउल लिगअन्तर्गतको रोमाञ्चक खेलमा नेपालले भारतलाई ९२ रनको विशाल अन्तरले पराजित गरेको हो ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले झन्डै विस्फोटक प्रदर्शन गर्दै निर्धारित ६ ओभरमा कुनै विकेट नगुमाई १३७ रनको पहाडजस्तै योगफल तयार गर्‍यो ।

राशिद खानले मात्र १७ बलमा ५५ रन प्रहार गर्दै इनिङ्सको लय निर्धारण गरे । उनी रिटायर भए पनि सन्दीप जोराले अविजित ४७ रन र लोकेश बमले अविजित ३१ रनको योगदान दिए ।

१३८ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको भारतले नेपाली बलरहरूको घातक बलिङका अगाडि टिक्न सकेन । तीन ओभरमै उसका सबै विकेट गुमे र टोली ४५ रनमै सीमित भयो । नेपालका राशिद खान र बसिर अहमद दुवैले तीन–तीन विकेट हात पारे ।

यसअघि समूह चरणका दुवै खेलमा (अफगानिस्तान र दक्षिण अफ्रिकासँग) पराजित भइसकेको नेपाल बाउल लिगमा झरेको थियो । बाउल लिगको पहिलो खेलमा श्रीलंकासँग पनि हार बेहोरेपछि शनिबारको जित नेपालका लागि आत्मविश्वास पुनःजागृत गर्ने अवसर बन्यो ।

अब नेपालले भोलि यूएईसँग प्रतिस्पर्धा गर्नेछ । बाउल लिगको शीर्ष दुई स्थानमा पुग्ने टोलीहरूले फाइनल खेल्ने छन् । शनिबारको जितसँगै नेपालले फाइनल प्रवेशको सम्भावना जीवित राखेको छ ।



प्रतिक्रिया दिनुहोस !