१९ मंसिर २०८२, शुक्रबार

एनपीएल सिजन २ मा पनि एनसेल मुख्य साझेदार

प्रकाशित मिति :  8 November, 2025 8:50 pm


काठमाडौँ । एनसेलले आगामी नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ को दोस्रो संस्करणमा पनि मुख्य साझेदारको रूपमा रहने घोषणा गरेको छ ।

शनिबार जारी विज्ञप्तिमा कम्पनीले ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित यस वर्षको प्रतियोगितामा सहकार्य गर्ने जनाएको हो ।

मंसिर १ गतेदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने एनपीएलमा प्रदेशगत फ्रेन्चाइज टोलीहरूले स्थानीय र अन्तर्राष्ट्रिय खेलाडीहरूको संयोजनमा प्रतिस्पर्धा गर्नेछन् । गत वर्षको पहिलो संस्करणमा पनि एनसेल मुख्य साझेदारको रूपमा आबद्ध थियो ।

कम्पनीका अनुसार क्रिकेटले नेपालीहरूलाई एकताबद्ध गर्ने माध्यम बनेको छ र एनसेलले आफ्नो कनेक्टिभिटीमार्फत् फ्यानहरूलाई घर, कार्यालय वा विदेश जहाँ भए पनि खेलसँग जोडिराख्ने लक्ष्य लिएको छ।

एनसेलका प्रमुख उपभोक्ता व्यवसाय अधिकृत उपङ्ग दत्तका अनुसार, “हालैका टी–ट्वान्टी प्रदर्शनले सम्पूर्ण नेपालीलाई गौरवान्वित बनाएको छ । क्रिकेट अहिले राष्ट्रको ठूलो आशा र एकताको प्रतीक बनेको छ। त्यसैले यस वर्ष पनि ‘युनाइटेड बाई क्रिकेट, कनेक्टेड बाई एनसेल’ भन्ने थीमसहित सहकार्य गर्न पाउँदा हामी अत्यन्त खुशी छौं ।”

फ्यान र दर्शकहरूको उत्साहलाई थप ऊर्जा दिन एनसेलले आफ्ना ग्राहकका लागि ‘एनसेल एप’ मार्फत् प्रत्यक्ष एनपीएलका खेल हेर्न सक्ने सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।

कम्पनीका अनुसार, यसको साझेदारी केवल खेल प्रतिभा प्रवर्द्धनमा सीमित छैन, खेलप्रेमीलाई सक्रिय रूपमा सहभागी गराउने उद्देश्य पनि राखिएको छ ।

नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले भने, “क्रिकेटको विकासका लागि हाम्रो सहकार्यलाई निरन्तरता दिँदै एनपीएल दोस्रो संस्करणमा पनि एनसेललाई मुख्य साझेदारका रूपमा पाउँदा हामी निकै खुसी छौं । यस्ता सहकार्यहरूले नेपाली क्रिकेटलाई विश्वमञ्चमा स्थापित गर्न ठूलो भूमिका खेल्नेछन् ।”

एक जिम्मेवार संस्था रूपमा एनसेलले आफ्नो स्थापना कालदेखि नै नेपालको खेलकुद क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ ।

कम्पनीले क्रिकेट, फुटबल, भलिबल, गल्फ लगायतका खेलहरू र पारा–खेलाडीहरूको सहभागिता र प्रवर्द्धनमा निरन्तर सहयोग गर्दै आएको छ। एनसेलका अनुसार, खेलकुदका माध्यमबाट युवालाई एकता, उत्साह र प्रेरणा प्रदान गर्नु कम्पनीको प्रमुख उद्देश्य हो ।



प्रतिक्रिया दिनुहोस !