एनपिएलमा आज दुई रोमाञ्चक भिडन्त : जनकपुर–विराटनगर र सुदूरपश्चिम–कर्णाली आमनेसामने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको दोस्रो संस्करणअन्तर्गत आज सोमबार दुई महत्वपूर्ण खेल हुँदैछन् । पहिलो खेल बिहान ११:४५ बजे साविक विजेता जनकपुर बोल्ट्स र अपराजित यात्रामा रहेको विराटनगर किङ्स आमनेसामने हुँदैछन् ।
दोस्रो खेल अपराह्न ४ बजे साविक उपविजेता सुदूरपश्चिम रोयल्स र पुनरागमनको बाटो समाउँदै आएको कर्णाली याक्स भिड्नेछन् ।
जनकपुरको पुनरागमन खोजी, विराटनगर निरन्तर तेस्रो जितको लक्ष्य
अनिल साहको कप्तानीमा रहेको जनकपुर बोल्ट्स प्रतियोगिताको पहिलो खेलमै काठमाडौँ गोर्खाजसँग ५ विकेटले पराजित भएको थियो । गत संस्करणको उत्कृष्ट प्रदर्शन दोहोर्याउन जनकपुरका लागि आजको खेल जित्नु अति महत्वपूर्ण हुने देखिन्छ।
यता, सन्दीप लामिछाने नेतृत्वको विराटनगर किङ्स लगातार तेस्रो जितको खोजीमा छ। विराटनगरले पहिलो खेलमा पोखरा एभेन्जर्स र दोस्रो खेलमा काठमाडौँमाथि जित दर्ता गर्दै प्रतियोगितामा बलियो सुरुवात गरिसकेको छ ।
गत संस्करणको उद्घाटन खेलमा यी दुईबीच भएको भिडन्तमा जनकपुरले ८ विकेटको सहज जित निकालेको थियो। आज विराटनगर ‘उक्त हारको बदला’ लिन आतुर हुने निश्चित छ।
दोस्रो खेल : सुदूरपश्चिम बनाम कर्णाली
आजको दोस्रो खेलमा दीपेन्द्र सिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्स र सोमपाल कामी नेतृत्वको कर्णाली याक्स भिड्नेछन् । गत संस्करण फाइनलसम्म पुगे पनि उपाधिबाट बञ्चित भएको सुदूरपश्चिम यसपटक ट्रफी जित्ने लक्ष्यमा मैदान उत्रिँदैछ।
कर्णालीले यो संस्करण भने खराब सुरुवात गरेको थियो । पहिलो खेलमा चितवन राइनोजसँग पराजित कर्णालीले दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले पराजित गर्दै प्रभावशाली पुनरागमन गर्यो । त्यही खेलमा कर्णालीका मार्क वाटले विस्फोटक शतकीय इनिङ खेल्दै टोलीलाई सजिलो जित दिलाएका थिए ।
गत संस्करण रनरेटका आधारमा प्लेअफ प्रवेश गरेको कर्णाली यसपटक सहज यात्राको चाहनामा छ। तर गत वर्ष सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले हराएको सम्झना दुवै टोलीका खेलाडीमा ताजा नै छ। आज कर्णाली त्यो हार दोहोरिन नदिने दृढताका साथ मैदान छिर्नेछ ।
प्रतियोगिता २७ मंसिरमा समापन
नेपाल क्रिकेट सङ्घ (क्यान)ले आयोजना गरेको एनपिएल मंसिर १ गतेदेखि सुरु भएको हो। प्रतियोगिता मंसिर २७ गते समापन हुनेछ।








