१९ मंसिर २०८२, शुक्रबार

अनर्गल प्रचारबाट भ्रमित नहुन राप्ती गाउँपालिकाको आग्रह

प्रकाशित मिति :  28 November, 2025 6:19 am


दाङ । दाङको राप्ती गाउँपालिकाले पछिल्ला दिनमा केही अनलाइन माध्यममा प्रकाशित तथ्यहीन र भ्रमपूर्ण समाचार का कारण जनतामा अनावश्यक भ्रम सिर्जना हुन नदिन आग्रह गरेको छ ।

गाउँपालिका अध्यक्ष प्रकाश विष्टले मंसिर ६ गते प्रकाशित “राप्ती गाउँपालिकाका अध्यक्ष विष्टको क्लिनिकमा सरकारी चिकित्सक, नदीमा अवैध उत्खनन् र दोहन” शीर्षकको समाचारप्रति आपत्ति जनाउँदै पत्रकार सम्मेलनमार्फत आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।

मंसिर ११ गते घोराहीस्थित नेपाल पत्रकार महासंघको सभाहलमा गरिएको पत्रकार सम्मेलनमा अध्यक्ष विष्टले समाचारमा उल्लेखित धेरै विषय तथ्यविहीन र एकतर्फी भएको बताए ।

स्वास्थ्य सेवाको विषयमा स्पष्टिकरण

अध्यक्ष विष्टका अनुसार केही दिनअघि राप्ती आधाभूत स्वास्थ्य अस्पतालमा सेवा लिन आएका बिरामीलाई त्यहाँका केही स्वास्थ्यकर्मीले समयमै सेवा नदिएको गुनासो आएको थियो ।

सोही कारण बिरामीको आग्रहमा आफूले ड्युटी सकेर बाहिर गएका चिकित्सकलाई इमर्जेन्सीमा बोलाई उपचार गराएको उनले बताए ।

“बिरामीले पटक–पटक गुनासो गरेका कारण कार्यपालिकाको निर्णयअनुसार स्वास्थ्यकर्मी साजन रोकाय र मेखराज खत्रीसमक्ष कारबाही गरिएको हो,” अध्यक्ष विष्टले भने, “यो घटना तथ्यविहीन रूपमा प्रस्तुत गरिएकाले जनतामा भ्रम फैलिएको छ।”

राप्ती अस्पतालका एमडिजिपी डा. सुशील केसीले पनि आफू ड्युटी सकेर कोठामा बसे पनि बिरामीको अवस्था गम्भीर भएकोले नै चिकित्सकीय धर्मअनुसार उपचार गरेको स्पष्ट पारे ।

“गम्भीर बिरामीको ज्यान जोगाउन क्लिनिकमै प्राथमिक जाँच गरी अस्पताल भर्ना गराएको हुँ,” उनले भने, “तर त्यसलाई गलत रूपमा प्रस्तुत गरिँदा मनोबल गिराउँछ। सत्यतामा रहन सबैलाई अनुरोध गर्छु ।”

नदीजन्य पदार्थको अवैध उत्खननमा कडाइ

गाउँपालिकाले राप्ती नदीमा राति–दिन अवैध ढुंगा उत्खनन तथा निकासी भइरहेको पत्ता लगाएपछि तत्काल कारबाही अघि बढाएको अध्यक्ष विष्टको भनाइ छ ।

नेपाल प्रहरीले करिब एक हप्ता अघि नै प्रमाण नभएका ५५ ट्याक्टर ढुङ्गा बरामद गरी गाउँपालिकामा बुझाएको थियो ।
“यी कानुनी कारबाहीपछि असहज बनेका केही समूहले सञ्चारमाध्यमको पछि लुकी भ्रमपूर्ण समाचार फैलाएका छन्,” अध्यक्ष विष्टले आरोप लगाउँदै भने, “गाउँपालिकालाई बदनाम गराउने प्रवृत्ति रोक्नुपर्छ ।”

फोहोरमैला व्यवस्थापनबारे जानकारी

फोहोर व्यवस्थापनसम्बन्धी विषय उठाउँदै अध्यक्ष विष्टले २०८० साउन २५ गतेदेखि नौ वटै वडाबाट संकलित फोहोर राप्ती–२ को पुन्यपुरमा व्यवस्थित रूपमा प्रशोधन भइरहेको बताए ।

उनका अनुसार, ९५ प्रतिशत प्लास्टिकजन्य फोहोर त्यहीँ प्रशोधन गरी ब्लक निर्माण भइरहेको, बाँकी गल्ने फोहोरबाट मल उत्पादन भइरहेको, सिसा तथा अन्य फोहोर प्रथक विधिबाट व्यवस्थापन गरिँदै आएको छ तर संघबाट प्राप्त बजेट प्रदेश सरकारले कार्यान्वयनमा नलगाउँदा सेग्रेगेशन प्रणालीमा केही समस्या आएको अध्यक्ष विष्टले बताए ।

स्थानीय बासिन्दाबीच केही असन्तुष्टि देखिएको स्वीकार गर्दै उनले, “यो क्षेत्र पूर्ण सरसफाइ केन्द्रको रूपमा स्थापित गर्न आवश्यक प्रक्रिया अघि बढाइएको छ,” भने ।

पत्रकार सम्मेलनमा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले पत्रकारिताको आचारसंहितामा रहेर मात्र समाचार प्रकाशन गर्नुपर्नेमा जोड दिए । “सत्य, तथ्य र प्रमाणमा आधारित पत्रकारिता नै जनताको विश्वास बढाउने माध्यम हो,” उनले भने । कार्यक्रमको सञ्चालन गाउँपालिकाका प्रेस संयोजक तुलबहादुर कवँरले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !