१९ मंसिर २०८२, शुक्रबार

पाेखरामाथि लुम्बिनी लायन्सको सानदार जित : जितकाे नायक कप्तान रोहित

प्रकाशित मिति :  29 November, 2025 3:28 pm


दाङ (देउखुरी) । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा लगातार तीन हारको दबाब झेलिरहेको लुम्बिनी लायन्सले अन्ततः राहत दिने जित हात पारेको छ ।

टीयू मैदानमा भएको खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई २ बल बाँकी छँदा ३ विकेटले हराउँदै अंक तालिकामा पुनरागमनको संकेत दियो ।

रोहित–डिक्वेला साझेदारीले बदल्यो खेल

१५१ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको लुम्बिनी सुरुवातमै दबाबमा परेको थियो। तर कप्तान रोहित पौडेल (४०) र निरोधन डिक्वेला (३७) बीचको ५४ रनको तेस्रो विकेट साझेदारीले खेलको लय बदलिदियो ।

अन्त्यतिर सन्दीप जोरा २५ रनमा अविजित रहेर टोलीलाई जितको बन्दरगाहसम्म पुर्याए । डार्सी सर्ट ७, सुमित महर्जन ०, दिलिप नाथ १०, गुल्बदिन नाइब १७ र रुवेन ट्रम्पल्यान १७ रनमा आउट भएका थिए।

पोखराको उत्कृष्ट सुरुवात, तर स्कोर रोकियो १५० मा

यसअघि टस हारेर ब्याटिङ थालेको पोखराले एडम वासिङटन को दमदार पारीका बाबजुद ठूलो स्कोर गर्न सकेन । एडमले ६३ बलमा ८१ रन बनाए भने, मध्यक्रम धराशायी हुँदै ४ विकेट ३३ रनमै गएको अवस्था सम्हाल्न जिम्मी निशम ले ३२ बलमा अविजित ५१ रन जोडेर इनिङ्स स्थिर पारे ।

तर बाँकी खेलाडी ठूलो योगदान दिन नसक्दा पोखरा २० ओभरमा १५० रनमै सीमित भयो । कप्तान कुशल भुर्तेल ०, सुमित वर्मा ०, तिर्थ दास १, दिनेश खरेल ७ रनमा आउट भए। किरणकुमार ठगुन्ना १ रनमा अविजित रहे ।

दुवै टोलीका बलर चम्किए

लुम्बिनीतर्फ शेर मल्ल र तिलक भण्डारीले दुई–दुई विकेट लिए भने, नाइबले एक विकेट हात पारे । पोखरातर्फ विपिन खत्री, म्याट टेयलर र सागर ढकालले दुई–दुई विकेट तथा निशमले एक विकेट लिए ।

रोमाञ्चक उतार–चढावले भरिएको यो खेलले लुम्बिनीलाई नयाँ ऊर्जा दिएको छ भने पोखरालाई अझ मजबुत पुनरागमनको आवश्यकता औंल्याएको छ ।



प्रतिक्रिया दिनुहोस !