१९ मंसिर २०८२, शुक्रबार

एनपिएल–२ : पाँचौं खेलसम्म अपराजित सुदूरपश्चिम रोयल्स प्लेअफमा प्रवेश

प्रकाशित मिति :  30 November, 2025 6:32 am


दाङ (देउखुरी) । जारी नेपाल प्रिमियर लिग (एनपिएल)–२ मा सुदूरपश्चिम रोयल्सले उत्कृष्ट फर्म कायम राख्दै लगातार पाँचौं जित दर्ता गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिबार भएको खेलमा रोयल्सले डिफेन्डिङ च्याम्पियन जनकपुर बोल्ट्सलाई ६ विकेटले पराजित गर्दै दोस्रो सिजनमा पनि प्लेअफमा स्थान सुरक्षित गरेको हो । यससँगै गत सिजनको फाइनलमा जनकपुरसँग व्यहोरेको हारको मीठो बदला पनि सुदूरपश्चिमले लिएको छ।

जनकपुर भने चौथो खेलसम्म पनि जितविहीन रहँदै प्लेअफ सम्भावना जटिल बनाउने स्थितिमा पुगेको छ। जारी लिगमा हालसम्म कुनै पनि जित नजोड्नै बाँकी रहेको टोली जनकपुर मात्र हो ।

बोहरा–इशानको चमकमा सुदूरपश्चिमको निरन्तर विजय

१ सय ४६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको सुदूरपश्चिमले १७.४ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । खराब सुरुआतका बीच पनि तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ७४ बलमा ९२ रनको महत्त्वपूर्ण साझेदारी गर्दै रोयल्सलाई खेलमा फर्काए ।

इशानले ३५ बलमा ९ चौका र १ छक्कासहित ५६ रनको अर्धशतक प्रहार गरे । विनोद ४२ रनमा आउट भए । अन्तिमतिर कप्तान दीपेन्द्रसिंह ऐरीले १० रन र हरमित सिंहले २५ रन (१० बल, १ चौका, ३ छक्का) बनाउँदै सहज जित दिलाए । हरमितले १८औं ओभरमा ललित राजवंशीलाई लगातार तीन छक्का प्रहार गर्दै खेल १४ बलअघि नै समाप्त गरे ।

जनकपुरका माज सदाकतले २ विकेट लिए भने सञ्जय कृष्णमुर्ति र आदित्य महताले १/१ विकेट हात पारे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४५ रन बनाएको थियो ।

ओपनर आसिफ शेख शून्यमा नै आउट हुँदा अर्का ओपनर मायान यादव ६ रनमै पभेलियन फर्किए । सदाकत पनि १२ रनमै आउट भएपछि पावरप्लेभित्रै जनकपुरले ३५ रनमा ३ विकेट गुमाएको थियो ।

मध्यक्रममा सञ्जय कृष्णमुर्तिले ५० रनको उत्कृष्ट इनिङ खेले । ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरेका सञ्जयलाई अविनाश बोहराले १७औं ओभरमा बोल्ड गर्दै रोकिदिए । बोहराले त्यसै ओभरमा लफ्टी इटनलाई पनि ३९ रनमा क्याच गराउँदै महत्त्वपूर्ण साझेदारी तोडे ।

अन्त्यतिर आदित्य महता (१५) र कप्तान वाइने पर्नेल (१४) ले केही योगदान गरे पनि ठूलो स्कोर खडा गर्न जनकपुर सफल भएन ।

अविनाश बोहरा ‘स्टार परफर्मर’

सुदूरपश्चिमका अविनाश बोहराले ४ विकेट लिए भने स्कट कुग्गेलिनले ३ विकेट हात पारे । स्कटले ४ ओभरमा २२ रन मात्र खर्चिँदै निकै किफायती बलिङ गरे। कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिए ।

सुदूरपश्चिमको अपराजित यात्रा अहिले लिग-२ को सबैभन्दा प्रभावशाली प्रदर्शन बनेको छ, जबकि डिफेन्डिङ च्याम्पियन जनकपुरको प्रदर्शन भने संकटपूर्ण मोडमा पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !