१९ मंसिर २०८२, शुक्रबार

महाधिवेशन विवादले थिचिएको कांग्रेस : आजको बैठकले देला त निकास ?

प्रकाशित मिति :  1 December, 2025 11:42 am


दाङ (देउखुरी) । पटक–पटक स्थगित हुँदै आएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज अन्ततः बस्दैछ । पार्टीभित्र नियमित वा विशेष महाधिवेशन गर्ने भन्ने विषयमा बनेको दीर्घ विवादका कारण लम्बिँदै आएको यो बैठकलाई ‘दिशा तय गर्ने निर्णायक चरण’ को रूपमा हेरिएको छ ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक आज दिउँसो २ बजे सानेपास्थित पार्टी कार्यालयमा बस्ने तय छ । बैठक लामो समयदेखि रोकिँदै आएकाे देखिए पनि वास्तविक संकट महाधिवेशनको मोडेलभन्दा गहिरो-पार्टीभित्र नेतृत्वप्रतिको विश्वास, व्यवस्था र निर्णय प्रक्रियाको स्पष्टता हो ।

यही अनिश्चितता र अविश्वासका कारण महाधिवेशनको विषयले निरन्तर विवादको रूप लिएको विश्लेषकहरूको टिप्पणी छ। बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विभिन्न धारका नेतासँग अनौपचारिक छलफल गर्ने तयारी गरेका छन्। तर नेताहरूको आ–आफ्नै अडान हुँदा दीर्घकालीन समाधान ल्याउने सहमति जुट्छ कि जुट्दैन भन्ने नै आजको मुख्य प्रश्न बनेको छ।

गत असोज २८ देखि सुरु भएको बैठक महाधिवेशनको विकल्प टुंगो नलाग्दा ‘निर्णयविहीनता’ को सङ्केत बनेको थियो। आजको बैठकले यही निर्णयविहीनतालाई अन्त्य गर्छ कि फेरि नयाँ मोडमा धकेलिन्छ-त्यही नै पार्टीभित्र र बाहिर दुवै ठाउँमा उत्सुकतापूर्वक हेरिएको छ।



प्रतिक्रिया दिनुहोस !