२४ मंसिर २०८२, बुधबार

एनपीएल एलिमिनेटर आज : काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सबीच निर्णायक भिडन्त

प्रकाशित मिति :  10 December, 2025 6:56 am


दाङ (देउखुरी) । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज काठमाडौंमा हुने एलिमिनेटर खेलमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स आमनेसामने हुँदैछन् । प्रतिस्पर्धा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा अपराह्न ४ बजे सुरु हुनेछ।

अंकतालिकामा काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेपछि दुवै टोली आजको खेलमा उपाधि दौड जोगाउन मैदान उत्रिनेछन् ।

जित्ने टोली दोस्रो क्वालिफायरमा

आजको एलिमिनेटर खेलमा जीत हासिल गर्ने टोलीले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग भिड्नेछ । विराटनगर पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भए पनि दोस्रो क्वालिफायरका लागि अवसर पाएको छ।

एलिमिनेटरमा पराजित हुने टोली भने प्रतियोगिताबाटै बाहिरिने भएकाले आजको खेल दुवै पक्षका लागि निर्णायक मानिएको छ ।

लिग चरणको अवस्थाः दुवै टोलीको उतार–चढाव

लिग चरणमा काठमान्डुले लुम्बिनीलाई २२ रनले पराजित गरेको थियो । लुम्बिनीले पहिलो खेल जिते पनि त्यसपछि तीन खेल लगातार हारेको थियो तर उत्कृष्ट पुनरागमन गर्दै तीन खेल लगातार जितेर ८ अंकसहित प्लेअफमा चौथो स्थानमा पुगेको हो।

काठमान्डुले भने सात खेलमध्ये पाँचमा जित निकाल्दै १० अंक जोडेको थियो । विराटनगरसँग समान १० अंक भए पनि नेट रनरेटमा पछि परेकाले काठमान्डुले तेस्रो स्थानबाट एलिमिनेटर खेल्नुपरेको हो ।



प्रतिक्रिया दिनुहोस !