११ पुस २०८२, शुक्रबार

राष्ट्रिय सभा निर्वाचनमा लुम्बिनी : काङ्ग्रेस-एमालेबीच कडा टक्कर

तेस्रो शक्ति नेकपा र साना दल : ‘किङमेकर’को भूमिकामा
प्रकाशित मिति :  26 December, 2025 12:34 pm


दाङ (देउखुरी) । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभाका तीन सदस्यका लागि हुने निर्वाचनले फेरि एकपटक प्रदेशको राजनीतिक शक्ति सन्तुलनलाई परीक्षणमा राखेको छ ।

प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिको संयुक्त मतदानबाट हुने यो निर्वाचन अंकगणितीय हिसाबले मात्रै होइन, राजनीतिक रणनीतिका हिसाबले पनि अर्थपूर्ण छ।

प्रदेश सभाका ८७ र स्थानीय तहका २१७ गरी ३०४ मतदाता रहेको लुम्बिनीमा एक महिला, एक अपाङ्गता भएका वा अल्पसंख्यक र एक अन्य समूह गरी तीन सदस्यका लागि निर्वाचन हुँदैछ । छ वर्षे कार्यकाल पूरा गरी फागुन २० गते विदा हुन लागेका सदस्यको स्थान पूर्ति गर्न माघ ११ गते मतदान तय गरिएको छ ।

मतभारको केन्द्रमा कांग्रेस–एमाले

प्रदेश सभा र स्थानीय तहको संयुक्त मतभार हेर्दा मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस र नेकपा एमालेबीच केन्द्रित देखिन्छ। नेपाली कांग्रेससँग प्रदेश सभामा २७ सदस्यको प्रतिनिधित्व छ । यसबाट उसले १,४३१ मतभार प्राप्त गरेको छ भने स्थानीय तहको मतसमेत जोड्दा कांग्रेसको कुल प्रभाव ३,१७९ मतभार पुगेको छ । यो तथ्यले कांग्रेसलाई अंकगणितीय रूपमा सबल अवस्थामा देखाउँछ।

नेकपा एमाले प्रदेश सभामा २९ सदस्यसहित संख्यामा अघि देखिए पनि संयुक्त मतभारमा भने कांग्रेसभन्दा केही पछि छ। एमालेको प्रदेश सभा मतभार १,५३७ भए पनि स्थानीय तह जोड्दा कुल मतभार २,८१० मा सीमित छ । यही अन्तरले निर्वाचनको अन्तिम नतिजा कता मोडिन्छ भन्ने चासो बढाएको छ ।

तेस्रो धार र साना दलको निर्णायक भूमिका

मुख्य दुई दलपछि नेपाली कम्युनिस्ट पार्टी तेस्रो शक्तिका रूपमा उभिएको छ । प्रदेश सभामा १२ सदस्य रहेको यस दलको मतभार ६३६ छ भने कुल मतभार १,३९६ पुगेको छ । यति ठूलो मतभारले यो दललाई सम्भावित ‘किङमेकर’ को भूमिकामा राखेको छ ।

यसैगरी नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, नेपाल, जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल जस्ता दलहरूको मतभार संख्यामा कम देखिए पनि परिणाम बदल्ने क्षमता बोकेको छ । राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी र एक स्वतन्त्र सदस्यको मत पनि अन्तिम चरणमा निर्णायक बन्न सक्ने देखिन्छ।

तीन सिट, धेरै समीकरण

तीन सिटका लागि हुने यो निर्वाचनमा केवल पार्टी संख्या होइन, कोटा अनुसार उम्मेदवार छनोट, दलहरूबीचको समझदारी र क्रस–भोटिङको सम्भावना निर्णायक तत्व बनेका छन् ।

विशेषगरी महिला तथा अपाङ्गता/अल्पसंख्यक कोटामा उम्मेदवार कसले कसलाई समर्थन गर्छ भन्ने प्रश्नले पर्दा पछाडि तीव्र राजनीतिक संवाद चलिरहेको संकेत गर्छ।

सन्देश केन्द्रतर्फ

लुम्बिनीको यो निर्वाचन प्रदेश सीमाभित्र मात्रै सीमित छैन। यहाँको परिणामले केन्द्रको राष्ट्रिय सभा संरचना, सत्ता समीकरण र आगामी राजनीतिक दिशालाई समेत संकेत गर्नेछ।

माघ ११ गते खस्ने ३०४ मतले तीन प्रतिनिधि मात्र होइन, लुम्बिनीको राजनीतिक वजन कता ढल्किन्छ भन्ने स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !