देशभर विभिन्न कार्यक्रम गरेर प्याब्सनले मनायाे ३५औं स्थापना दिवस
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले आफ्नो ३५औं स्थापना दिवस पुस २४ गते (आज) देशभर विभिन्न कार्यक्रममार्फत मनाएको छ।
यस अवसरमा प्याब्सन अन्तर्गत प्रदेश, जिल्ला तथा पालिकास्तरका सबै कार्यसमितिहरूले विशेष कार्यक्रम सञ्चालन गरेका थिए। कार्यालयहरू र सदस्य विद्यालयहरूमा प्याब्सनको झण्डा फहराइएको थियो भने साँझ सांस्कृतिक दीपावली कार्यक्रम पनि आयोजना गरिएको थियो।
प्याब्सनका महासचिव आरबी कटवालले मातहतका सबै कार्यसमितिहरूलाई स्थापना दिवस भव्य रूपमा सम्पन्न गर्न सक्रिय सहभागिता र सहकार्य गर्न परिपत्र जारी गरेकाे थिए साेही अनुसार आज देशभर उक्त दिवस मनाइएकाे छ । महासचिव कटवालले विगत ३५ वर्षको यात्रामा शिक्षा क्षेत्रमा सामना गरिएका चुनौती र अवसरबिच शैक्षिक नेतृत्व, सहकार्य र सामाजिक उत्तरदायित्वलाई मुख्य आधार बनाउँदै अगाडि बढेको बताए।
प्याब्सनले स्थापना कालदेखि देशभरका निजी विद्यालयहरूलाई एउटै छातामुनि ल्याउँदै शैक्षिक कार्यक्रमहरूमा एकरुपता ल्याउने, संस्थागत हकहितको संरक्षण गर्ने, राहत वितरणदेखि आर्थिक सहयोगसम्म प्रदान गर्दै आएको छ।
तथ्याङ्कअनुसार नेपालमा करिब ११ हजार निजी शिक्षण संस्था छन् भने प्याब्सनमा मात्र आठ हजार विद्यालय आवद्ध छन्। देशको शिक्षा क्षेत्रमा निजी विद्यालयहरूको योगदान झण्डै ३१ प्रतिशत रहेको छ।
प्याब्सनमा आवद्ध विद्यालयहरूले भौतिक संरचना, पूर्वाधार विकास र जनशक्ति व्यवस्थापनमा ७ खर्ब रुपैयाँभन्दा बढी लगानी गरेका छन्। एसइई परीक्षाको नतिजामा निजी विद्यालयको उत्तीर्ण प्रतिशत लगभग ९० प्रतिशत रहेको छ भने सामुदायिक विद्यालयको ३० प्रतिशत हाराहारीमा छ।
देशभर १० प्रतिशतभन्दा बढी विद्यार्थीलाई निःशुल्क शिक्षा र छात्रवृत्ति प्रदान गर्दै आएको प्याब्सनले गुणस्तरीय शिक्षा प्रदान गरी अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम शिक्षित विद्यार्थी तयार गर्ने काममा योगदान पुर्याइरहेको छ।








