२५ पुस २०८२, शुक्रबार

प्याब्सनका महासचिव कटवालको उपस्थितिमा लमजुङ विविध कार्यक्रमसहित मनाइयो ३५औं स्थापना दिवस

प्रकाशित मिति :  8 January, 2026 10:35 am


काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५औं स्थापना दिवस लमजुङमा पनि भव्य रूपमा मनाइएको छ। बेसीसहर नगरपालिकाको फुलबारीमा आयोजित कार्यक्रममा प्याब्सनका महासचिव आरबी कटवाल प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

कार्यक्रममा लोकनृत्य प्रतियोगिता, १०औं स्पोर्ट्स मिटका विजयी खेलाडी तथा टिमलाई पुरस्कार वितरण, उत्कृष्ट शिक्षक, उत्कृष्ट शैक्षिक नतिजा हासिल गर्ने विद्यालय तथा मेडिकल क्षेत्रमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल विद्यार्थीलाई सम्मान गरिएको थियो। कार्यक्रममा सबै तह र तप्काका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख जिल्ला समन्वय समिति लम्जुङका प्रमुख पूर्ण वहादुर गुरुङ, बेसीसहर नगरपालिकाका प्रमुख गुमान सिंह अर्याल, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोइराला, मध्यनेपाल नगरपालिकाका प्रमुख रमेश कुमार पाण्डे, राइनास नगरपालिकाका प्रमुख खड्का बहादुर गुरुङ, मस्र्याङ्दी गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारी, क्व्होलासोथर गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर गुरुङ, बेसीसहर नगरपालिकाकी उपप्रमुख पदमा गुरुङ, जिल्ला समन्वय समिति लम्जुङकी उपप्रमुख बुना कुमारी रिमाललगायतको उपस्थिति थियो।

कार्यक्रममा बेसीसहर नगरपालिका प्रमुख अर्यालले निजी विद्यालयहरूले शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान अतुलनीय रहेको बताए। उनले प्याब्सनले शिक्षा गुणस्तरीय बनाउन सधैं पहल गर्दै आएकोमा धन्यवाद व्यक्त गरेका थिए।

सुन्दरबजार नगरपालिका प्रमुख कोइरालाले निजी विद्यालय र प्याब्सनबिचको सहकार्यले विद्यार्थीलाई अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा सक्षम बनाउन मद्दत पुगेको बताए। उनले शिक्षा केवल पाठ्यक्रम मात्रै नभई सामाजिक जिम्मेवारी पनि हुनुपर्नेमा जोड दिएका थिए।

मध्यनेपाल नगरपालिका प्रमुख पाण्डेले प्याब्सनले शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय बढाउने काम गरिरहेको बताए। उनले यसले शिक्षा प्रणालीलाई सशक्त बनाउने महत्त्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका थिए।

राइनास नगरपालिका प्रमुख गुरुङले विद्यालयहरूको भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापनमा गरेको लगानीले गुणस्तरीय शिक्षा प्रवर्द्धनमा सहयोग पुगेको बताए।

मस्र्याङ्दी गाउँपालिका अध्यक्ष गुरुङले प्याब्सनले निजी विद्यालयलाई एउटै छातामुनि ल्याएर सहकार्य र प्रतिस्पर्धी वातावरण सिर्जना गरेको बताए। उनले यसले विद्यार्थीको सर्वांगीण विकासमा योगदान पुर्‍याएको पनि बताएका थिए।

दोर्दी गाउँपालिका अध्यक्ष अधिकारीले निजी विद्यालयले शिक्षा क्षेत्रमा गरेको लगानी र समाजप्रति देखाएको उत्तरदायित्व सराहनीय रहेको बताए। उनले प्याब्सनले यसमा मार्गदर्शन प्रदान गर्दै आएको पनि उल्लेख गरेका थिए।

क्व्होलासोथर गाउँपालिका अध्यक्ष गुरुङले शिक्षामा गुणस्तर र पहुँच सुनिश्चित गर्न प्याब्सनले निरन्तर काम गर्दै आएको बताए। उनले यसले विद्यार्थीलाई आत्मनिर्भर र प्रतिस्पर्धी बनाउने अवसर दिएको बताए।

बेसीसहर नगरपालिकाकी उपप्रमुख तथा जिल्ला समन्वय कार्यालयकी उपप्रमुख बुना कुमारी रिमालले प्याब्सनले शिक्षा पहुँच र गुणस्तर दुवैमा ध्यान दिँदै समाजमा सकारात्मक प्रभाव पारिरहेको बताइन्। उनले यसले स्थानीय विकास र विद्यार्थीको भविष्य सुनिश्चित गर्न सहयोग गरेको पनि बताएकी थिइन्।

कार्यक्रममा प्याब्सन लम्जुङका प्रमुख सल्लाहकार मेनबहादुर घले, सल्लाहकार अरुण चुडाल, क्याप्टेन बहादुर गुरुङ, तारानाथ घिमिरे र बलराम पराजुलीको पनि उपस्थिति थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि महासचिव कटवालले निजी विद्यालयहरूले देशको शिक्षा क्षेत्रमा पुर्‍याएको योगदान उल्लेखनीय रहेको बताए।

उनले प्याब्सनले विगत ३५ वर्षदेखि निजी विद्यालयलाई एउटै छातामुनि संगठित गर्दै गुणस्तरीय, प्रतिस्पर्धी र सामाजिक उत्तरदायित्वयुक्त शिक्षा प्रणाली निर्माणमा काम गर्दै आएको उल्लेख गरे। “शिक्षा नाफामुखी मात्र होइन, राष्ट्र निर्माणको आधार हो,” उनले भने, “निजी विद्यालयहरूले पूर्वाधार, जनशक्ति र शैक्षिक गुणस्तरमा गरेको लगानीले समग्र शिक्षा क्षेत्रलाई बलियो बनाएको छ।”

लम्जुङमा आयोजना गरिएको स्थापना दिवस कार्यक्रमले शिक्षा, खेलकुद र संस्कृतिको प्रवर्द्धनसँगै शिक्षक, विद्यार्थी र अभिभावकबिच आपसी समन्वय र उत्साह थपेको आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !