२९ पुस २०८२, मंगलबार

प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाबिच पठन संस्कार र गुणस्तरीय शिक्षा विस्तारका लागि सहकार्य

प्रकाशित मिति :  13 January, 2026 5:16 pm


काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) र अक्सफोर्ड युनिभर्सिटी प्रेस (ओयूपी) इन्डियाबिच नेपालमा पठन संस्कार प्रवर्द्धन र गुणस्तरीय शिक्षाको विस्तारका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ।

काठमाडौँमा सम्पन्न कार्यक्रममा ३५ वर्षदेखि नेपालमा गुणस्तरीय शिक्षाको प्रवर्द्धन गर्दै आएको प्याब्सन र विश्वप्रसिद्ध शैक्षिक प्रकाशक ओयूपी इन्डियाबिच दीर्घकालीन सहकार्यको औपचारिक सुरुवात भएको हो।

समझदारीसँगै नेपालभरका विद्यालयहरूमा विश्वस्तरीय पठन सामग्रीको पहुँच विस्तार, विद्यार्थीमा पठन संस्कार विकास, शिक्षकको व्यावसायिक क्षमता अभिवृद्धि तथा विद्यालय नेतृत्व सुदृढीकरण गर्ने लक्ष्य लिइएको छ।

प्याब्सनले देशभरका पाँच हजारभन्दा बढी निजी तथा आवासीय विद्यालयहरूको प्रतिनिधित्व गर्दै आएको छ र उद्देश्यपूर्ण, गुणस्तरीय तथा जीवनोपयोगी शिक्षा प्रवर्धनमा सक्रिय रहँदै आएको छ।

विद्यार्थीको समालोचनात्मक सोच, सिर्जनशीलता, सिकाइ क्षमता तथा आजीवन शिक्षाको आधारका रूपमा पठन संस्कार अत्यावश्यक रहेको भन्दै प्याब्सनले यसलाई आफ्नो प्रमुख प्राथमिकतामा राख्दै आएको जनाएको छ।

विश्वव्यापी रूपमा पठन बानी कमजोर बन्दै गएको सन्दर्भमा सही पुस्तकको उपलब्धता, सहयोगी सिकाइ वातावरण र योजनाबद्ध पठन कार्यक्रममार्फत विद्यार्थीलाई सशक्त बनाउनु आजको आवश्यकता भएको प्याब्सनको निष्कर्ष छ।

साथै, परीक्षा केन्द्रित शिक्षाभन्दा पर गई सिकाइको वास्तविक उद्देश्य, आधुनिक शिक्षण दर्शन र विश्वव्यापी शैक्षिक प्रवृत्तिबारे शिक्षक तथा विद्यालय नेतृत्वलाई निरन्तर तालिममार्फत सशक्त बनाउने प्रतिबद्धता पनि प्याब्सनले लिएको छ।

अक्सफोर्ड विश्वविद्यालयअन्तर्गतको विश्वप्रसिद्ध शैक्षिक प्रकाशक अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले पनि पठन संस्कारलाई शिक्षाको केन्द्रमा राख्दै आएको छ।

नेपालमा प्याब्सनले सञ्चालन गर्दै आएका शैक्षिक पहलमा सहकार्य गर्न पाउँदा ओयूपी इन्डियाले खुशी र प्रतिबद्धता व्यक्त गरेको छ।

समझदारीबारे प्रतिक्रिया दिँदै प्याब्सन केन्द्रीय समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीले अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियासँगको सहकार्य नेपाली विद्यालय शिक्षाका लागि महत्वपूर्ण उपलब्धि भएको बताए।

उनले विद्यालयको मूल उद्देश्य सिकाइ नै भएको उल्लेख गर्दै पठन बिना गुणस्तरीय शिक्षा, समालोचनात्मक सोच, सिर्जनशीलता र चरित्र विकास सम्भव नहुने स्पष्ट पारे।

यस सहकार्यमार्फत शिक्षा सुधारको सुरुवात सशक्त पाठक निर्माणबाटै हुनुपर्ने विश्वास पुनः स्पष्ट भएको उनको भनाइ थियो। पुस्तक मात्र पर्याप्त नहुने भन्दै दक्ष शिक्षक, सक्षम विद्यालय नेतृत्व र स्पष्ट शैक्षिक उद्देश्य अपरिहार्य रहेको उनले बताए।

प्याब्सनको दृष्टि परीक्षा र नतिजाभन्दा पर रहेको उल्लेख गर्दै उनले पठनलाई विद्यालय जीवनको संस्कारका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए।

त्यस्तै, अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाका प्रबन्ध निर्देशक सुकान्त दासले नेपालमा शिक्षा क्षेत्रमा ओयूपी को दीर्घकालीन सहभागिता र योगदानलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

विश्वप्रसिद्ध वक्ता, अनुभवी शिक्षक र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक स्रोत उपलब्ध गराएर विद्यार्थीको सिकाइ यात्रा समृद्ध बनाइने उनले बताए। साथै, शिक्षकको व्यावसायिक विकास र विद्यालय नेतृत्वलाई आधुनिक शैक्षिक अभ्याससँग परिचित गराउने कार्यमा पनि सहकार्य केन्द्रित हुने उनको भनाइ थियो।

समझदारीअनुसार अक्सफोर्ड युनिभर्सिटी प्रेसको रिड उइथ अक्सफोर्ड ’ अन्तर्गतको चर्चित ‘अक्सफोर्ड रिडिङ ट्रि’ कार्यक्रमका ७० ओटा पुस्तक समेटिएको विशेष प्याक प्याब्सन सदस्य विद्यालयहरूका लागि सहुलियतपूर्ण दरमा उपलब्ध गराइनेछ।

यसले नेपालभरका विद्यार्थीलाई स्तरअनुसारका गुणस्तरीय पठन सामग्रीमा पहुँच विस्तार गर्ने अपेक्षा गरिएको छ।

यसैगरी, बेलायतस्थित ओयूपी को व्यावसायिक विकास टोलीबाट ‘रिड उइथ अक्सफोर्ड’ कार्यक्रम अपनाउने विद्यालयहरूका लागि विशेष शिक्षक तालिम सञ्चालन गरिनेछ।

प्याब्सनद्वारा आयोजना हुने अन्तर्राष्ट्रिय सम्मेलन, प्रादेशिक नेतृत्व शिखर सम्मेलन तथा अन्य नेतृत्व विकास कार्यक्रमहरूमा ओयूपी ले अन्तर्राष्ट्रिय प्रशिक्षक र मुख्य वक्ता उपलब्ध गराउनेछ।

समझदारीअनुसार प्याब्सन केन्द्रीय कार्यालयमा स्रोत तथा सिकाइ केन्द्र स्थापना गर्न ओयूपी ले सहयोग गर्नेछ, जहाँ नमुना पुस्तक, शिक्षण सामग्री र व्यावसायिक सिकाइ स्रोतहरू उपलब्ध हुनेछन्।

प्याब्सनले आफ्ना सदस्य विद्यालयहरूलाई ‘रिड उइथ अक्सफोर्ड’कार्यक्रम लागू गर्न र विद्यालय पात्रोमा पठनका लागि छुट्टै समय निर्धारण गर्न प्रोत्साहित गर्नेछ।

प्याब्सन र अक्सफोर्ड युनिभर्सिटी प्रेस इन्डियाले यस समझदारीलाई दीर्घकालीन सहकार्यको आधारका रूपमा लिएका छन्।

आत्मविश्वासी पाठक निर्माण, शिक्षकलाई आधुनिक सीपले सुसज्जित गर्नु तथा दूरदर्शी विद्यालय नेतृत्व विकास गर्ने लक्ष्यसहित यो सहकार्यले नेपालको शिक्षा प्रणालीमा दीर्घकालीन र सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ ।



प्रतिक्रिया दिनुहोस !