नेसनल प्याब्सन कास्कीद्वारा कक्षा १० का विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडाैँ । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कास्की शाखाले शैक्षिक सत्र २०८२ मा कक्षा १० मा अध्ययनरत सदस्य विद्यालयका विद्यार्थीहरूका लागि विद्यार्थी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम बिहीबार पोखरा महानगरपालिका–२६ स्थित नमस्ते पार्टी प्यालेसमा आयोजना गरिएको हो ।
नेसनल प्याब्सन कास्कीका अध्यक्ष रोशन कोइरालाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संयुक्त राष्ट्र संघद्वारा मान्यता प्राप्त अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमका प्रशिक्षक उत्तम दाहालले सहजीकरण गरेका थिए ।
उनले विद्यार्थीहरूमा अध्ययनप्रति रुचि जगाउने उपाय, सिकाइ प्रक्रियामा देखिने चुनौतीहरू तथा ती समस्याको समाधानका सम्भावित उपायबारे विस्तृत रूपमा जानकारी दिएका थिए ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै पोखरा महानगरपालिकाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने विषयमा मन्तव्य व्यक्त गरे ।
उनले विद्यार्थीको समग्र विकासका लागि विद्यालय, अभिभावक र विद्यार्थीबीचको समन्वय आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा नेसनल प्याव्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा केन्द्रीय परीक्षा उपसमिति संयोजक ज्ञानेन्द्र मोहन भट्टराई, केन्द्रीय सह–कोषाध्यक्ष शिवदत्त तिवारी, केन्द्रीय व्यवस्थापन उपसमिति संयोजक कमल रानाभाट लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि अभिमुखीकरण कार्यक्रम उपयोगी भएको भन्दै आफ्ना अनुभव र प्रतिक्रिया राखेका थिए ।
कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन कास्कीका उपाध्यक्ष विकल पौडेलले गरेका थिए भने अध्यक्ष रोशन कोइरालाले कार्यक्रममाथि समग्र प्रकाश पारेका थिए ।
सो अवसरमा नेसनल प्याब्सनमा आवद्ध भएका नयाँ सदस्य विद्यालयहरूलाई सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।








