१४ माघ २०८२, बुधबार

नेसनल प्याब्सन काठमाडौँको खेलकुद सप्ताह–२०८२ सुरू

प्रकाशित मिति :  27 January, 2026 9:14 am


काठमाडौँ । नेसनल प्याब्सन काठमाडौं जिल्ला समितिको आयोजना तथा नेसनल प्याब्सन बुढानिलकण्ठ नगर समितिको संयोजनमा काठमाडौँ जिल्लाव्यापी खेलकुद सप्ताह–२०८२ को उद्घाटन समारोह मंगलबार सम्पन्न भएको छ। उद्घाटन समारोह बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १० स्थित ह्यान्डबल ग्राउण्डमा आयोजना गरिएको हो।

कार्यक्रम नेसनल प्याब्सनका संस्थापक तथा वर्तमान अध्यक्ष गीता राणा क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। उद्घाटन समारोहमा नेसनल प्याब्सन केन्द्रीय समितिका वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी, उपाध्यक्ष कुमारबहादुर भट्टराई र डम्बर कार्की, सचिव तेन्जिङ भुटिया, सदस्यहरू विनय श्रेष्ठ र राजेश्वर तिवारीको उपस्थिति रहेको थियो।

त्यसैगरी बुढानिलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई, नेसनल प्याब्सन बागमती प्रदेश अध्यक्ष नारायणकुमार कार्की, नेसनल प्याब्सन काठमाडौँ जिल्ला समिति तथा बुढानिलकण्ठ नगर समितिका अध्यक्ष सुदीप काफ्ले, महानगर संयोजक नीलमणि भट्टराईसहित नगरका पदाधिकारीहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा विभिन्न विद्यालयका प्राचार्य, सहायक प्राचार्य तथा खेल संयोजकहरूको उल्लेखनीय सहभागिता थियो।

उद्घाटन समारोहका क्रममा ३५ वटा विद्यालयको सहभागितामा मार्चपास प्रस्तुत गरिएको थियो। साथै तानडोरी र पूर्व–प्राथमिक तथा प्राथमिक तह स्तरीय अवस्ट्याकल प्रतियोगिता सम्पन्न गरी विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो।

कार्यक्रमपछि सम्पन्न अवस्ट्याकल प्रतियोगितामा १२६ जना विद्यार्थी विजयी भएका थिए। टग अफ वार महिला तर्फ काठमाडौं विद्यालय प्रथम, जोसेफ हाई स्कुल दोस्रो तथा पिक प्वाइन्ट पब्लिक स्कुल र वेदव्यास स्कुल तृतीय स्थानमा सफल भए। पुरुष तर्फ प्रिन्सटन एकेडेमी प्रथम, ब्रेनल्याण्ड एकेडेमी दोस्रो तथा काठमाडाैँ विद्यालय र लिटिल बुद्ध हाई स्कुल तेस्रो स्थानमा रहे।

विजयी खेलाडीहरूलाई कार्यक्रममा उपस्थित विशिष्ट अतिथिहरूले मेडल र ट्रफी प्रदान गरेका थिए। आगामी खेलकुद कार्यक्रमअन्तर्गत फुटसल प्रतियोगिता साम्टेन स्कुल, कपनमा आयोजना हुने छ भने बास्केटबल प्रतियोगिता तिरुपति स्कुल/कलेज र टेबल टेनिस प्रतियोगिता पिक प्वाइन्ट पब्लिक स्कुलमा सञ्चालन हुने जनाइएको छ।

कार्यक्रममा प्लेफिट, ग्रीन आर्मी, नेपाल–भारत मैत्री अस्पताल, भानु सेक्युरिटी कम्पनीलगायत संस्थाहरूले सहकार्य गरेका छन्। कार्यक्रमका सभापति तथा नेसनल प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष होमबहादुर अधिकारीले खेलकुदले विद्यार्थीको शारीरिक र मानसिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताउँदै आगामी दिनमा यस्ता गतिविधि थप विस्तार गरिने जानकारी दिए।

कार्यक्रम सञ्चालन बुढानिलकण्ठ नगर समिति सचिव गोविन्दबहादुर धामीले गरेका थिए भने स्वागत मन्तव्य नगर समिति अध्यक्ष सुदीप काफ्लेले दिएका थिए। कार्यक्रमसम्बन्धी हाइलाइट सह–संयोजक सुस्मिता मैनाली, व्यवस्थापन संयोजक विजय न्यौपानेले प्रस्तुत गरेका थिए। प्रमुख अतिथि गीता राणा क्षेत्री र जिल्ला अध्यक्ष होमबहादुर अधिकारी (मनोज) ले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।



प्रतिक्रिया दिनुहोस !