खोटाङ सेवा समाजमा नवल खड्काको नेतृत्वमा नयाँ कार्यसमिति गठन
काठमाडौँ। खोटाङेली समुदायको साझा सामाजिक संस्था खोटाङ सेवा समाजले नयाँ कार्यसमिति गठन गर्दै संगठनात्मक संरचनालाई पूर्णता दिएको छ। हालै सम्पन्न अधिवेशन तथा भेलाबाट नवल खड्काको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको हो।
नवगठित कार्यसमितिमा चार जना उपाध्यक्ष चयन भएका छन्। उपाध्यक्ष पदमा जगतप्रसाद घिमिरे, मातृकाप्रसाद निरौला, कल्पना राई र दुर्गा पोखरेल रहेका छन्। महासचिवको जिम्मेवारी राजु एन। राईलाई दिइएको छ भने उप–महासचिवमा कर्णराज कटुवाल चयन भएका छन्। सचिवमा नवराज रोक्का र कोषाध्यक्षमा प्रकाश पुरी रहेका छन्।
त्यस्तै, कार्यसमितिका सदस्यहरूमा गणेश थापा, लोकबहादुर खत्री, विषा गुरुङ, ज्ञानमाया परियार, मिसन राई, प्रकाश लुइँटेल, सन्तोष राई, गुणराज राजभण्डारी, रामकुमार पुरी, कोपिला राई, दयाराम राई र गणेश बिष्ट रहेका छन्।
निर्वाचन प्रक्रियालाई निष्पक्ष र व्यवस्थित बनाउन डा। विष्णु राईको संयोजकत्वमा निर्वाचन समिति गठन गरिएको थियो। समितिमा बाबुराम न्यौपाने र देवराज कटुवाल निर्वाचन अधिकृतको भूमिकामा रहेका थिए।
‘जहाँ खोटाङेली, त्यहीँ खोटाङ सेवा समाज’ भन्ने नारालाई आत्मसात गर्दै समाजले आगामी दिनमा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई थप प्रभावकारी बनाउने जनाएको छ। यसै अभियानअन्तर्गत समाजले माघ १५ गते देशभक्तिपूर्ण चलचित्र ‘काँडेतार’ को च्यारिटी प्रदर्शन आयोजना गरेको थियो। च्यारिटी शोबाट संकलित रकम समाजको स्थायी कोष स्थापना गर्न प्रयोग गरिने जनाइएको छ।
समाजका अध्यक्ष नवल खड्काका अनुसार उक्त कार्यक्रमबाट करिब चार लाख रुपैयाँ बराबरको रकम संकलन हुने अनुमान गरिएको छ।
यसै अवसरमा समाजका उप–महासचिव कर्णराज कटुवालले आगामी कार्यकालमा खोटाङेली समुदायको आवश्यकतालाई केन्द्रमा राख्दै शिक्षा, स्वास्थ्य, विपद् व्यवस्थापन, सीप तथा रोजगारी प्रवर्द्धन, महिला तथा बालबालिका सशक्तीकरण, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिको सहयोग, वातावरण तथा संस्कृति संरक्षण, समुदाय विकास र सुशासनका क्षेत्रमा आधारित दीर्घकालीन कार्ययोजना कार्यान्वयन गरिने जानकारी दिएका छन्।








